गण्डकी प्रदेश

झोलुङ्गे पुल निर्माण भएपछि यस क्षेत्रका स्थानीयवासी खुसी

२५ कात्तिक, कावासोती । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–१, बहुवान सिस्यानीमा झोलुङ्गे पुल निर्माण भएपछि यस क्षेत्रका स्थानीयवासी खुसी भएका छन् । विनयी खोलाका कारण बर्सेनि सास्ती खेप्दै आएका यस क्षेत्रका स्थानीयवासी अहिले झोलुङ्गे पुल निर्माण भएपछि खुुसी भएका हुन् ।
विगतका वर्षमा आवतजावतका लागि खोला तर्नुपर्ने बाध्यता स्थानीयवासीको थियो । बर्सेनि वर्षातको समयमा स्थानीयवासीले ज्यानसमेत गुमाउने गरेको स्थानीय धनबहादुर सोमैले बताए । अब पुल बनेपछि दैनिक आवतजावतमा सुविधा पुग्ने उहाँको भनाइ छ । बिरामी हुदाँ उपचारका लागि जानसमेत वर्षाको समयमा निकै समस्या हुने गरेको उनले बताए ।
केही समयअघि गण्डकी प्रदेशका भौतिक पूर्वधार विकासमन्त्री रामशरण बस्नेत कोरोला त्रिवेणी सडकको अध्ययनका लागि यस क्षेत्र पुग्ने क्रममा स्थानीयवासीले त्यहाँको समस्या बताएकाथिए । त्यसपछि प्रदेश सरकारको लागतमा पुल निर्माण भएको हो । सोमबार पुलको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले यस क्षेत्रका स्थानीयले माग गरेबमोजिमको पुल निर्माण सम्पन्न भएकामा खुसी लागेको बताए ।
भारतसँग जोडिन कोरला–त्रिवेणी सडकमा महत्वपूर्ण क्षेत्रको रूपमा बहुवान रहेको छ । बहुवानसम्म अहिले कच्ची सडक रहेको छ । यहाँबाट त्रिवेणीसम्म करिब १९ किलोमिटर खण्डमा ट्र्याक खोल्नुपर्ने छ । ट्र्याक खुलेमा गण्डकी प्रदेश सोझै आफ्नै प्रदेशको बाटो हुदै भारतीय सीमा नाकासँग जोडिने छ । यद्यपि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले सडक निर्माणको काम अगाडि बढ्न सकेको छैन । बहुवानमा त्रिवेणी नाका जोड्ने सडक निर्माणका लागि आवश्यक कामहरु भइरहेको र यस क्रममा रहेका केही कानूनी अड्चन हटाउँदै यस सडकखण्ड खोलेर छाड्ने मन्त्री बस्नेतले प्रतिबद्धता व्यक्त गरे ।
जुवातास खेल्ने सात पक्राउ
प्रहरीले जुवातास खेल्ने सात जनालाई सोमबार साँझ पक्राउ गरेको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व मध्यविन्दु–२ शेरीस्थित नारायणजङ्घ कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले मध्यविन्दु–७ का ३० वर्षीय भवानीशङ्कर थनेत, ३१ वर्षीय कृष्ण कुमाल, मध्यविन्दु–१ का ४३ वर्षीय खोरबहादुर चौधरी, मध्यविन्दु–२ का ३७ वर्षीय सुनबहादुर आलेमगर, ५३ वर्षीय हेमलाल थनेत, ३३ वर्षीय उदय उप्रेती र ४५ वर्षीय पदम रानालाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी विशाल तामाङले जानकारी दिए ।
उनीहरुको साथबाट रु ४२ हजार १७०, विदेशी मुद्रा २६० दिराम र तीन बुक ताससमेत बरामद गरेको तामाङले जानकारी दिए । उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुरअन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको तामाङले बताए ।
लागुऔषध सहितपक्राउ
इलाका प्रहरी कार्यालय दुम्कीबासले लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ । विनयी त्रिवेणी गाउँपालिका–१ होङ्सी जाने गेट नजिकैबाट सोमबार प्रहरीले लागुऔषधसहित तनहुँ जिल्ला भानु नगरपालिका–१ का २२ वर्षीय अर्जुन परियारलाई पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले डाइजापाम २०५ एम्पुल, फेनारगन १८७ एम्पुल र नुर्फिन २०४ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी तामाङले बताए । पक्राउ परेका परियारलाई लागुऔषध तथा नियन्त्रण ऐन, २०३३ बमोजिम कसुरअन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको उनले जानकारी दिए ।
पटका बरामद

भारतबाट अवैधरूपमा ल्याइएको बिनाबिलको अबिरजन्य पदार्थ र पटका नवलपुर प्रहरीले बरामद गरेको छ । विनयीत्रिवेणी गाउँपालिका–२ दाउन्ने बजारस्थितमा प्रहरी चौकी दाउन्नेबाट खटिएको जाँच टोलीले सवारी जाँच गर्ने क्रममा बिनाबिलको अबिरजन्य पदार्थ १६६ किलोग्राम, रकेटबम पटका २९० थान, झिरझिरे पटका दुई हजार ३० थान, चङ्गेबम पटका ९० थान, सानोपटका ९५० थान र चक्की भुइँचम्पा १९० थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका सूचना अधिकारी तामाङले जानकारी दिए ।