प्रवास

बन्दना राणा दोस्रो पटक सिइडिएडब्ल्युमा निर्वाचित

२५ कात्तिक, टेक्सस । संयुक्त राष्ट्रसंघीय महिलाविरुद्धको विभेद निरुपण समिति (सिइडिएडब्ल्यु)मा महिला अधिकारकर्मी वन्दना राणा पुनः निर्वाचित भएकी छन् । सिइडिएडब्ल्यको अन्तरराष्ट्रिय समितिको वर्तमान कार्यकाल (सन् २०१७– २०२०)मा राणा उपाध्यक्षका रुपमा कार्यरत रहेकी छन् । समितिमा निर्वाचित सदस्यमध्येबाट एकएक अध्यक्ष र उपाध्यक्ष चयन गरिने प्रावधान छ । नेपालका तर्फबाट दोस्रो कार्यकालका लागि उम्मेदवारी दिइएकामा १३७ मत उनलाई परको थियो । तेइस सदस्यीय समितिका ११ पदमा यस पटक निर्वाचन भएको हो जसमा १९ देशका प्रतिनिधिको उम्मेदवारी परेको थियो । एक सय ८९ देशले मतदान गर्न पाउने समितिमा यस पटक १८८ देशले मतदान गरेका थिए । राणा अब समितिको सन् २०२१ देखि २०२४ सम्मका लागि सदस्यमा निर्वाचित भएकी छन् । समितिको २१ औंँ बैठकले ११ जनालाई निर्वाचित गरेको हो ।
राष्ट्र संघका लागि नेपालको स्थायी नियोग कार्यालयले जानकारी गराएअनुसार नेपालसँगै नेदरल्याण्ड्स, बहामस, लिथुनिया, घाना, अष्ट्रेलिया, मेक्सिको, लेबनान, फ्रान्स, फिलिपिन्स र चीन निर्वाचित भएका छन् । समितिमा नेपालको जीतपछि राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले सरोकार पक्ष सबैमा धन्यवाद व्यक्त गरेकी छन् ।
राष्ट्रिय महिला आयोगका पूर्वअध्यक्ष एवं सञ्चार तथा अधिकारकर्मी राणाले राष्ट्र संघ जनसंख्या कोषको उच्चस्तरीय आयोगमा पनि सदस्यका रुपमा काम गरिरहेकी छन् । सिइडिएडब्ल्युमा नेपालका तर्फबाट सदस्यमा निर्वाचित भए पनि राणाले स्वतन्त्र विज्ञका रुपमा काम गर्नुपर्ने हुन्छ ।