२६ कात्तिक, झिमरुक । प्युठान नगरपालिका–६ टुनिखर्कमा सडक निर्माण सम्पन्न भएको छ । नगरपालिकाकै बस्ती भए पनि यस क्षेत्रमा हालसम्म सडक पुगेको थिएन । ढुङ्गेठाटी–टुनीखर्क–काफलबुटा–लम्छ्याङ सडकखण्ड अन्तर्गत यस क्षेत्रमा सडक पु¥याइएको हो । विसं २०७६ साउन १० गते सडक निर्माणका लागि सम्झौता गरिए पनि यस आर्थिक वर्षको कात्तिक २४ गते सडक निर्माणको काम पूरा भएको हो ।
सडक निर्माणले टुनिखर्कका ४८ घरधुरीसँगै काफ्लबुटा, लम्छयाङलगायत क्षेत्रका गरी १५० घरधुरीमा जनता लाभान्वित हुने वडासदस्य ईश्वरबहादुर पुनले बताए । यहाँका जनता वडा कार्यालय, बजारक्षेत्र नगरपालिकासम्म जानका लागि सहज हुनेसमेत उनले बताए। सडक निर्माणले कृषि ढुवानी, स्वास्थ्य संस्था, विद्यालय पुग्नसमेत सहज हुने उनको भनाइ छ ।
प्युठान नगरपालिका वडा नं ६ र वडा नं ८ लाई लक्षित गरी ढुङ्गेठाटी–स्वामीफेद–काफलबुटा–धर्मावती सडकखण्डका लागि आर्थिक वर्ष २०७६/७७ मा सङ्घ सरकारको विशेष अनुदानमा प्राप्त एक करोड बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट वडा नं ६ मा अढाइ किलोमिटर नयाँ सडक ट्रयाक खोलिएको छ भने वडा नं ८ मा साढे चार किलोमिटर सडक स्तरोन्नति, २४० घनमिटर जाली, ८३ घनमिटर ढुङ्गाको गारो, ग्राभेल, होमपाइप राख्ने काम गरिएको नगरपालिकाका इञ्जीनियर वीरेन्द्र कुँवरले बताए । वडा नं ८ तर्फको सडकको स्तरोन्नतिको काम आर्थिक वर्ष २०७६र७७ को असारमसान्तसम्म सकिएको थियो भने वडा नं ६ तर्फको काम केही ढिला सकिएको उनले बताए ।
टुनीखर्कका स्थानीयवासीले लामो समयको पर्खाइमा सड्क पाएको प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए । अब वडा नं ६ को वडा कार्यालय जानका लागि नगरपालिकाका ८ वटा सडकबाट जान सकिने उनले बताए । सडक निर्माणसँगै यसको प्रयोग पनि गर्नुपर्ने उनले बताए । अब यस सडकमा नियमित सवारीसाधन सञ्चालन गर्नसमेत स्थानीयवासीलाई आग्रह गरे ।