५ मङ्सिर, बलेवा / बागलुङको जैमिनी नगरपालिकाले कास्कीमा रहेको माटो परीक्षण प्रयोगशालाको प्राविधिक सहयोगमा माटो परीक्षण गर्न शुरुआत गरेको छ । नगरका दशवटै वडामा परीक्षण गरेर माटोको उत्पादकत्व खोजी गर्न थालिएको हो । माटोको गुणअनुसारको बाली लगाउने उद्देश्यले परीक्षण थालिएको नगरप्रमुख इन्द्रराज पौडेलले जानकारी दिए ।
माटोमा रहेको अम्लियपन र उत्पादकत्वमा ह्रास आउनुको कारण खोज्न परीक्षण शिविर सञ्चालन भएको उनले बताए । शिविरको पहिलो चरणमा किसान आफैँलाई माटोको नमूना सङ्कलनको विषयमा कृषि प्राविधिकले जानकारी गराएका छन् । “हामीले उत्पादन बढाउने उद्देश्यले यसो गरिरहेका छौँ”, उनी भन्छन्, “जबर्जस्त खेतीले कृषिमा प्रगति गर्न सकिन्न ।” उब्जाउ हुने जमिनको माटो परीक्षण हुने उनले जानकारी दिए । माटोको क्षमताअनुसारको बालीका लागि नगरपालिकाले प्राविधिकको सल्लाहमा सिफारिस गर्नेछ ।
“हिजोजस्तो आज हाम्रो उत्पादन छैन, गिरावट भएको उत्पादन बढाएर कम्तीमा हामी कृषिमा आत्मनिर्भर हुन चाहन्छौँ”, नगरप्रमुख पौडेल भने, “थोरै लगानीमा हाम्रो माटोको क्षमता पत्ता लाग्छ भने परीक्षण किन नगर्ने रु” चालू आर्थिक वर्षमा नगरपालिकाले रु दुई लाख ५० हजार माटो परीक्षणका लागि विनियोजन गरेको छ । यस वर्ष एक हजार नमूना परीक्षण गर्ने लक्ष्य रहेको कृषि प्राविधिक रवीन्द्र शर्माले जानकारी दिए ।
“किसान आफैँले नमूना ल्याउनुहुन्छ, नमूना सङ्कलन विधि हामीले सिकाइसकेका छौँ”, उनले भने, “प्रयोगशालाले अम्लियपन, नाइट्रोजन, फसफोरसलगायतका माटोमा हुने तत्वको खोजी गर्नेछ ।” माटोको सुधारका लागि कुनै तत्व उपलब्ध गराउनुपर्ने भएमा नगरपालिकाले निःशुल्क उपलब्ध गराउने कार्यक्रम बनाएको छ । “किसानले खेती गर्ने माटोको विषयमा जानकारी राख्नु जरुरी हुन्छ”, प्राविधिक शर्मा भने, “नगरपालिकाले किसानका लागि दिएको यो राम्रो अवसर हो ।” प्रत्येक वडाबाट १८ देखि २० जनासम्म किसानले नमूना सङ्कलन गर्ने विधि सिकेका छन् । उनीहरुकै सहायतामा परीक्षणका लागि नमूना सङ्कलन हुनेछ ।
“एकै वर्ष सबै जमिनको परीक्षण नसकिएला तर यो निरन्तर प्रक्रिया हो”, नगरप्रमुख पौडेलले भने, “हाम्रो उत्पादकत्वको अवस्थाका विषयमा केही जानकारी अवस्य हुन्छ ।” लामो समय एकै किसिमका बाली लगाउने र माटोको अवस्था नबुझी खेती गर्दा उत्पादन कम हुने उनी बताउछन् ।