समाचार

दश स्थानीय तहका दुई हजार ३८८ घरमा जस्तापाताको छाना

खोटाङ, १० मङ्सिर । खर वा फुसको छाना विस्थापित गर्ने नेपाल सरकारको कार्यक्रमअनुसार यस वर्ष खोटाङका दुई हजार ३८८ घरमा जस्तापाताको छाना लगाइने भएको छ । नेपाल सरकारको सुरक्षित आवास कार्यक्रमअन्तर्गत खर ९फुस० वा कच्ची छाना भएका जनतालाई जस्तापाता वितरण गरिने भएको हो ।

यस वर्ष फुसको छाना भएका वृद्ध, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई पहिलो प्राथामिकतामा राखेर जस्तापाता वितरण गरिने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले जानकारी दिएका छन् । “आगामी वर्ष जिल्लाका अन्य खरको छाना भएका नागरिकको घरलाई समेत सम्बोधन गर्दै लगिनेछ”, उनले भने, “यस वर्ष जस्तापाता वितरण गर्ने जिम्मा जिल्लाका १० वटै स्थानीय तहलाई दिइएको छ ।”

शहरी विकास मन्त्रालयअन्तर्गत वितरण गरिने जस्तापाता यस वर्ष सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३४८ घर स्थानीय बासिन्दाले पाउने भएका छन् । यस्तै यसै वर्ष त्रिधार्मिकस्थल हलेसीसमेत रहेको हलेसी तुवाचुङ नगरपालिकामा ३४३ घरपरिवारको फुसको छानो हटाइने भएको छ ।

जिल्लाका १० वटै स्थानीय तहका प्रमुखको उपस्थितिमा भएको जस्तापाताको छाना वितरण गर्दा ऐँसेलुखर्क गाउँपालिकामा २३१, रावाबेँसी गाउँपालिकामा २०६, जन्तेढुङ्गा गाउँपालिकामा २२०, खोटेहाङ गाउँपालिकामा २८०, केपिलासगढी गाउँपालिकामा २११, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा २०३, साकेला गाउँपालिकामा १५० र बराहपोखरीमा गाउँपालिकामा १९६ घरधुरीले जस्ता छाना पाउनेछन् ।

जस्तापाताको छाना वितरण गर्दा पुरानो मौलिक घरहरु ९खरको छाना भएको पुरानो संरचनाका घुमाउने घर०का घरधनीले संरक्षण गर्न चाहेमा स्थानीय सरकारले वैकल्पिक व्यवस्था गर्ने गरी संरक्षणमा सहयोग गर्ने निर्णय गरिएको छ । यस्तै भूकम्पमा परेको घर जसलाई राज्यले अनुदान दिइसकेको छ भने, त्यस्तो घरलाई उक्त सुविधा नदिने निर्णय गरिएको सांसद भट्टराईले जानकारी दिएका छन् ।

यस्तै घर छाडेर अन्यत्र बसोबास गर्दै आएका तर यताको पुख्र्यौली घरसमेत नछाडेकाहरुलाई समेत यो सुविधा नदिइने सांसद भट्टराईले बैठकमा जानकारी दिएका छन् । सांसद भट्टराईले बैठकमा सहभागी स्थानीय तहका प्रमुखहरुलाई जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरणमा देखिएको अनियमिततालाई रोक्न निर्देशन दिएका छन् ।

जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजना गरिएको बैठकमा सांसद भट्टराईले आगामी मङ्सिर १५ गते देशव्यापीरूपमा एकैसाथ प्रत्येक स्थानीय तहमा १५ श्ययाको अस्पताल शिलान्यास गर्ने कार्यक्रम रहेकाले सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यस वर्ष छ स्थानीय तहमा उक्त कार्यक्रम रहेको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रहेको १५ श्ययाको अस्पतालसमेत स्तरोन्नति गरेर ५० श्ययाको बनाउने तयारी भइरहेको सांसद भट्टराईले जानकारी दिएका छन् । यसका लागि शहरी विकास मन्त्रालयले डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) बनाएर बोलपत्र खोल्ने तयारी गरिरहेको जनाइएको छ ।

विसं २०४८ मा स्थापना भएको उक्त अस्पतालमा श्यया अभाव भएपछि कतिपय बिरामी नजिकको होटल तथा आफन्तको कोठाबाट धाएर उपचार गराउन बाध्य छन् । स्थापना भएको २९ वर्ष बितिसक्दा समेत अस्पतालको स्तरोन्नति नहुनुमा सम्बन्धित निकायले चासो नदिएको जिल्लावासीको आरोप छ ।

एसएलसीमा जिल्ला उत्कृष्ट विद्यार्थीद्वारा विद्यालयमा अक्षय कोष

एसएलसी परीक्षामा जिल्ला उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सावित्रा माविका पूर्वविद्यार्थीले आफ्नो आमाबुवाको नाममा अक्षयकोष स्थापना गरेका छन् । विसं २०६८ मा सामुदायिक विद्यालयमध्येबाट जिल्लाकै सबैभन्दा बढी अङ्क ल्याएर एसएलसी उत्तीर्ण गरेका प्रमोद राईले आफ्नो बुवा कर्ण राई र आमा सरस्वती राईको नाममा रु एक लाख ५१ हजार राशिको अक्षयकोष स्थापना गरेका हुन् ।

हाल अमेरिकामा कम्प्युटर इञ्जीनियरिङमा ग्रेजुएसन गरिरहेका प्रमोदले गरिब तथा जेहेन्दार विद्यार्थीको चौतर्फी विकासका लागि आफूले मावि तह अध्ययन गरेको विद्यालयमा आमाबुवाको नाममा ‘कर्ण–सरस्वती दुङभहँछा अक्षयकोष’ स्थापना गर्नुभएको वडाध्यक्ष ललितकुमार राईले बताए ।

अक्षयकोषको वार्षिकरूपमा आउने ब्याजबाट बाम्राङभरिका मावि तथा आधारभूत विद्यालयले वार्षिकरूपमा सञ्चालन गरेको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीमध्येबाट गरिब तथा जेहेन्दार विद्यार्थी छनोट गरेर प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

प्रमोदले सावित्रा माविमा दुई कार्यकाल प्रअको भूमिका निर्वाह गरेपछि राजीनामा दिएर गाउँको शैक्षिक तथा सामाजिक रुपान्तरणमा योगदान पुर्याउँदै आएका बुवा कर्ण र आमाको नाममा अक्षयकोष स्थापना गरिदिएका वडाध्यक्ष राईले जानकारी दिएका छन् । अक्षयकोष सञ्चालनका लागि स्थानीय युगसन किराँतको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति गठन गरिएको छ ।

विद्यालयमा स्थापना गरिएको अक्षयकोषको राशि बर्सेनि बढाउँदै लैजाने सञ्चालक समितिका अध्यक्ष राईले बताउनुभएको छ । “प्रमोदले पनि पछि थप गर्दै जाने वचन दिएका छन् उनले भने, “यो असल कार्य शुरुआतका लागि कान्छा भाइलाई हार्दिक आभारसहित धन्यवाद १”