गण्डकी प्रदेश

आज काठमाडौंको तापक्रम यो वर्षकै कमः देशभरी नै अझै चिसो बढ्ने

१३ मंसिर, काठमाडौं । आज काठमाडौंको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियसमा झरेको हो ।

यसअघि शुक्रबार ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम एकैदिन ३.५ डिग्रीले घटेको हो ।

राति देशभरीकै मौसम सफा भएकाले बिहान देशभर तापक्रम घटेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिएका छन् । उनका अनुसार राति मौसम सफा भए बिहानको तापक्रम घट्छ । तर राति बादल लागे बिहानको तापक्रम बढ्छ ।

राति बादल लाग्दा जमिन चिसिन पाउँदैन त्यही भएर बिहानको तापक्रम घट्दैन तर राति मौसम खुला भए जमिन पनि चिसिएर तापक्रम घट्ने उनको भनाई छ ।

केही दिन यता देशका पहाडी क्षेत्रको मौसम बदली गराएको प्रणाली हटेकाले अबको केही दिन देशभरी कै मौसम सफा रहने उनको भनाइ छ । मौसम सफा भएसँगै देशभरी नै अझै चिसो बढ्नेछ ।