१३ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक आज बस्दै छ ।बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दस्तावेजको जवाफ दिने तयारी गरेका छन् । प्रचण्डले १९ पृष्ठ लामो दस्तावेज प्रस्तुत गरेसँगै नेकपा विवादको तरंग सतहमा देखिएको हो ।
उक्त दस्तावेजमा ओलीको प्रश्नको जवाफसमेत समेटिएका थिए । ओलीले कार्यकारी अध्यक्ष भएपछि पार्टीमा के जिम्मेवारी पूरा भयो भन्दै सोधेको प्रश्नको जवाफमा प्रचण्डले हलो अड्काएर गोरु चुट्ने काम भएको बताएका छन् ।
उक्त पत्रलाई ओलीले आरोपपत्रको संज्ञा दिएका छन् । ओलीले आफ्नो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोपत्रलाई अस्वीकार गर्नेसमेत बताइसकेका छन् । उनले आजको बैठकमा आरोपत्रलाई खारेज गर्दै लिखित रुपमा जवाफ दिने पनि बताएका छन् । ओलीले जालझेल र तिकडमले पार्टी नबच्ने बताएका थिए ।
प्रधानमन्त्री ओलीले सचिवालयमा प्रस्तुत गर्ने प्रस्ताव तयार भइसकेको ओली निकटका नेताहरुले बताएका छन । प्रस्तावमा ओलीलाई प्रचण्डले जे जसरी आरोप लगाएका थिए त्यसरी नै ओलीले पनि प्रचण्डलाई आरोप लगाएका छन् ।
प्रस्ताव फिर्ता लिन पटक पटक ओली पक्षले आग्रह गरे पनि प्रचण्डले अस्वीकार गरेका थिए । ओलीसँग नेकपा विवादबारे छलफल गर्नसमेत प्रचण्ड तयार नरहेको ओली निकट ती नेताले बताए । अब आजको बैठकबाटै विवादको छिनोफानो गर्ने अवस्थामा अध्यक्ष प्रचण्ड रहेको बुझिएको छ ।