१३ मंसिर, बारा । बारा सिमरास्थित जगदम्बा स्टील्स प्रालिको फलाम पगाल्ने भट्टी पड्किदा चार मजदुर घाईते भएका छन्। घाईतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । जितपुरसिमरा उपमहानगरपालिका २ मा अवस्थित उद्योगको भट्टी शुक्रबार मध्यरातमा पड्किएको हो । फलाम गलाउने क्रममा अचानक भट्टी पड्किदा त्यहा कार्यरत चार मजदुर घाईते भएका हुन् ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार दुई भारतीय र दुई नेपाली मजदुर घाईते भएका हुन्। घाईतेमध्ये सर्लाही सक्रोल गाउँपालिका ६ का ४० वर्षीय बिकिन्द्र यादवको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि काठमाडौैं ल्याईएको छ ।
यादवको शरीरको भाग जलेको जनाईएको छ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा सामान्य उपचारपछि थप उपचारका लागि यादवलाई काठमाडौं ल्याईएकोे डीएसपी श्रेष्ठले जानकारी दिएका छन् । घटनामा सर्लाही बरथवा नगरपालिका ५ का २८ वर्षीय मुकेश साह, भारत मोतिहारीका २६ वर्षीय नईमुदिन आलम र भारत शिवन ग्राम जिल्लाका ४८ वर्षीय जनकदेव यादव घाईते भएका छन् । साहको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ भने दुई भारतीय मजदुर तराई सिमरा अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।
भट्टी पड्किदा फलाम पगाल्ने प्लान्टमा क्षति पुगेको थियो । भट्टी पड्किएको कम्पनले उद्योग नजिक रहेका सवारी साधनमा समेत क्षति पर्याएको छ । भट्टी पड्किदा निस्किएको आगो भने केहीबेरमै नियन्त्रणमा आएको थियो । प्लान्टमा आगो निभाउन स्वचालित मेसिन जडान गरिएको छ ।
घटना लगत्तै उद्योग क्षेत्रमा प्रहरी र स्थानीय पुगेका थिए । भूकम्पकै महसुस हुने गरी राति करिब १ बजे ठुलो कम्पन र आवाजसहित भट्टी पड्किदा सिमरा वरपर क्षेत्रका स्थानिय त्रसित बनेका थिए । भट्टी पड्किएपछि निस्किएको आवाज र कम्पन सिमरासहित औराह, बजनी, रामवन, हुलास क्षेत्रसम्म पुगेको थियो ।
भट्टी पड्किएको आवाज र कम्पनले वरपर क्षेत्रका स्थानिय रातभर त्रसित बनेको जितपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले बताएका छन् । उद्योग प्रशासनका कर्मचारी कुमुद ढकालले प्राविधिक गढबडी भई भट्टी पड्किएको बताए छन । रातिको समयमा भएकाले भट्टी पड्किएको आवाज ठुलो सुनिएको उनले बताए ।