१३ मङ्सिर, दमौली / तनहुँको देवघाट गाउँपालिका–३ निवासी ७३ वर्षीया माया गुरुङले ७३ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्य र देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले आज घरमै पुगेर उनलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
परिवारका कोही पनि सदस्य नभएका कारण एक्लै बस्दै आउनुभएकी उनले नागरिकता नपाएको जानकारी पाएपछि आवश्यक कागजात जुटाएर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।
देवघाट गाउँपालिकाका अध्यक्ष थापाले गाउँपालिकाले आवश्यक कागजातसहित प्रशासनमा सिफारिस गरेपछि नागरिकता प्रदान गरिएको बताए । नागरिकताको प्रमाणपत्र नहुँदा गुरुङले हालसम्म ज्येष्ठ नागरिक सुरक्षा भत्ता प्राप्त गर्न सकेका थिएनन् । गाउँपालिका अध्यक्ष थापाले अब ज्येष्ठ नागरिक सुरक्षा भत्ताका लागि आवश्यक प्रक्रिया शुरु गरिने जानकारी दिए ।
नागरिकताको प्रमाणपत्रसँगै गुरुङलाई चार÷पाँच महिनाका लागि पुग्ने खाद्यान्न सामग्री, भाडावर्तन र न्यानो कपडासमेत उपलब्ध गराइएको छ ।
कोरोना सङ्क्रमणबाट महिलाको निधन
कोरोना सङ्क्रमणका कारण तनहुँको ऋषिङ गाउँपालिका–८ की एक महिलाको मृत्यु भएको छ ।
मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत ७८ वर्षीया ती महिलाको शुक्रबार राति मृत्यु भएको हो । उहाँमा मङ्सिर ११ गते कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।
व्यास नगरपालिकामा ६, भीमाद नगरपालिकामा पाँच, शुक्लागण्डकी नगरपालिकामा दुई, म्याग्दे गाउँपालिकामा दुई र आँबुखैरेनी गाउँपालिकामा दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।