१५ मंसिर, काठमाडौं । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्दैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बनाउने गरी आज शिलन्यास गर्न लागिएको हो ।
यस्तै सरकारले आजै सातवटै प्रदेशमा सरुवा रोग अस्पतालको शिलन्यास गर्दैछ । सातवटै प्रदेशमा ५० श्ययाको सरुवा रोग अस्पतालको भवन शिलान्यास गर्न लागिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पुर्याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको थियो । अहिले सङ्घमा एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ ।
कोरोनाको महामारीपछि सबै प्रदेशमा सरुवा रोग अस्पतालको आवाश्यकता महशुस गरेको सरकारले हरेक स्थानीय तहमा अस्पताल खडा गर्ने गरी आज शिलन्यास गर्न लागेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले बताए । उनका अनुसार पालिकामा बन्ने अस्पताल भवनको सङ्घीय सांसद र पालिकाका प्रमुखले पनि शिलान्यास
गर्नेछन् ।
७५३ पालिकामध्ये ६४९ पालिकामा अस्पताल नै छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ पालिकामा अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो।
प्रदेश नं १ मा ३२ पालिकामा, प्रदेश नं २ मा २० पालिका, वाग्मती प्रदेशमा १९ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ६० पालिका, कर्णाली प्रदेशमा २८ पालिका र सुदूरपश्चिम प्रदेशमा ३४ पालिकामा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ ।
अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ पालिकालाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउनका लागि ६४ अर्ब नौ करोड बजेट पठाइसकेको छ । पाँच शैय्याको अस्पतालका लागि ७० लाख, १० शैय्याको लागि ८५ लाख र १५ शैय्याको लागि एक करोड रुपैयाँ पठाइसकिएको मन्त्रालयले जनाएको छ ।