१६ मंसिर, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिलय बैठक आज बस्दै छ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो बस्ने बैठकमा ओली र प्रचण्डको प्रतिवेदनमा छलफल हुनेछ । यसका साथै दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमा सदस्यहरूले आफ्नो धारणा राख्नेछन् ।
तर, आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका प्रथम अध्यक्ष ओली समूहले अल्पमतमै परे पनि प्रतिवेदनमार्फत राखेको अडानबाट पछि नहट्ने तयारी गरेको छ ।
आफूविरूद्ध लागेको लाल्छनामा दाहालले माफी मागेर साझा प्रस्ताव ल्याउनु पर्ने अडानसहित ओली समूह प्रस्तुत हुँदैछ । अन्यथा भदौ २६ को स्थायी कमिटी बैठकको निर्णभन्दा टसमस हुन नपाइने गरी ओली पक्षले दबाब दिने तयारी गरेको स्रोतले जनाएको छ ।
कार्यकारी अध्यक्ष प्रचण्डसहितका बहुमत सचिवालय सदस्य रहेको दाहाल(नेपाल समूहले ओलीको कार्यशैलीका कारण पटकरपटक समस्या आएकाले बहुमतबाट निर्णय गर्दै अघि बढ्ने रणनीति बनाएका छन् । यसका लागि सो समूहको नेताहरूले माधव नेपालको निवास कोटेश्वरमा सोमबार बिहान छलफल गरेका थिए ।
उक्त छलफलले दुई अध्यक्षको अहिलेको प्रस्तावलाई साझा बनाउने गरीको पहल गर्ने तर सहमति नबने स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा लगेर निर्णय गराउने तयारी भएको स्रोतको दाबी छ । त्यसअघि गत शनिबार बसेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेश गरेपछि नेकपामा दुई वटा प्रस्तावले औपचारिकता पाएका छन् ।
त्यसअघि कात्तिक २८ को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले ओलीलाई जवाफी पत्रसहित १९ पृष्ठको प्रस्ताव पेस गरेका थिए । अध्यक्षद्वयबीच मतभेद बढेपछि बैठक माग गर्दै पाँच सचिवालय सदस्यले कात्तिक २५ गते ओलीलाई पत्र लेखेपछि नेकपाभित्र ‘पत्र युद्ध’ सुरू भएको थियो ।
पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको छ । दाहालले अनौपचारिक रूपमा पार्टी विभाजन गरेको ओलीले आरोप लगाएका छन् भने दाहालले पनि ओलीलाई पार्टी विभाजनको ‘नाइके’को संज्ञा दिइ सकेका छन् ।