कृषि

कृषि–बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घको अध्यक्ष पराजुली

२० मङ्सिर, काठमाडौँ / कृषि बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घ लिमिटेडको एकीकृत साधारणसभाले विनोद पराजुलीको अध्यक्षतामा २३ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । गत असार ३१ गते कृषि बीउ र तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घ लिमिटेडबीच एकीकरण भएको थियो । कृषिसँग सम्बन्धित सहकारीको छाता संस्थालाई एउटै बनाउने उद्देश्यले एकीकरण गरिएको जनाइएको छ । हाल २० केन्द्रीय सङ्घमध्ये १३ वटा कृषिकै रहेको जनाइएको छ ।
एकीकरण भएपछि शुक्रबार शुरु पहिलो साधारणसभाले आगामी चारवर्षे कार्यकालका लागि २३ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको हो । सङ्घको सहअध्यक्षमा होमनाथ थपलिया, उपाध्यक्ष त्रयमा सुश्री गोपा बिएम, कालीप्रसाद पाण्डे र रणबहादुर बोहरा निर्वाचित भएको छन् । यसैगरी महासचिवमा मीनबहादुर घिमिरे निर्वाचित भएका छन् । सङ्घको सात जना सचिवमा क्रमश हरिप्रसाद प्याकुरेल, श्रीमती सङ्गीता कँडेल, हितराज कार्की, हरिबहादुर थापा, रामप्रसाद पाण्डे, बर्जुराम घतानी र रामचन्द्र रेग्मी निर्वाचित भएका छन् । सात जना सचिवलाई आगामी सञ्चालक समितिको बैठकले प्रदेशगतरुपमा संयोजन गर्नेगरी जिम्मेवारी तोक्ने सचिव प्याकुरेलले राससलाई जानकारी दिए ।
सङ्घको कोषाध्यक्षमा धर्मेन्द्र महर्जन, सदस्यमा भूमिप्रसाद रेग्मी, कल्याणी बोहरा, रुद्रबहादुर विसङ्खे, पासाङदोर्जे लामा, बद्री सञ्जेल, एकप्रसाद बजगाइँ, गङ्गासागर नेपाल, विवेक ढकाल र रमेश फुयाँल निर्वाचित भएका छन् । साधारणसभाको शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले उद्घाटन गरेका थिए ।
मन्त्रालय र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम सहयोगमा कृषि–बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घ लिमिटेडले करिब रु सवा करोडको लागतमा चाबहिलस्थित सरस्वतीनगरमा केन्द्रीय सहकारी बजार पनि शुक्रबारदेखि नै औपचारिकरुपमा सञ्चालनमा ल्याएको छ । खुद्रा बजारमा ताजा तरकारी तथा फलफूल सुपथ मूल्यमा पाइने बजार सञ्चालकसमेत रहनुभएका सचिव प्याकुरेलले जानकारी दिए ।
सरकारको सहयोगमा निर्माण भएको यो पहिलो सहकारी बजार हो । मन्त्रालयकै सहयोगमा ललितपुरमा सहकारी बजार सञ्चालनमा ल्याउने तयारी भएको छ । बजारमा केही दिनमा थोक बिक्री कक्षसमेत खोल्न लागिएको जनाइएको छ । लिमिटेडमामा देशका विभिन्न भागका १९३ वटा कृषि बीउ, तरकारी तथा फलफूल सहकारी आबद्ध छन् ।