पाँचथर, २४ मङ्सिर । पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा रु १३ लाख बराबरको क्षति भएको छ । मङ्गलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करीब एक लाख, पाँच तोला सुनसमेत जल्दा करीब १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगलागी फिदिम नगरपालिकाका दुई वटा वारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।