२३ मंसिर, काठमाडौं । भ्रष्टाचारीको आरोप लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले ’म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने प्रतिवद्धता पुनः दोहर्याएका छन् ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले आफुले प्रधानमन्त्री भएदेखि नै ’म भ्रष्टाचार गर्दिन, भ्रष्टचार गर्न पनि दिन्न’ भन्ने संकल्पलाई दृढताकासाथ लागू गरेको तर भ्रष्टाचार एक बहुआयामिक विषय भएको बताएका हुन् ।
केहि समय अघि एम्नेष्टि ईन्टरनेशनलले प्रधानमन्त्री ओलीले मुलुकका भ्रष्टाचारीको संरक्षण गरेका प्रतिवेदन सार्वजनीक गरेका थियो । उनले एकजना प्रधानमन्त्री, मन्त्री वा कुनै एउटा निकायको प्रयासले मात्रै भ्रष्टाचार नियन्त्रण सम्भव नभएको भन्दै भ्रष्टाचारलाई सामाजिक रुपमा नै निन्दा र भर्त्सना गर्न अपिल गरेका छन् ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार आर्थिक अपराध मात्र नभई यसले सामाजिक मूल्य मान्यताहरू उपर सिधा प्रहार गर्ने र प्रजातान्त्रिक संस्थाहरुलाई ध्वस्त पार्ने पनि बताएका छन । पछिल्ला दिनहरूमा भ्रष्टाचारजन्य सम्पत्ति विदेशमा पुर्याउने, त्यसलाई अपराधजन्य कार्यहरूमा लगानी गर्ने र अन्तर्राष्ट्रिय शान्ति र सुव्यवस्था उपर नै आक्रमण गर्ने जोखिमसमेत देखिएको पनि प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।
भ्रष्टाचारजन्य क्रियाकलाप नियन्त्रण गर्न नागरिक समाज र सञ्चार जगतबाट गरिने खबरदारीलाई सरकारले सदैव स्वागत गर्ने प्रधानमन्त्रीले बताएका छन् ।