सूचना प्रविधि

कोरोनाबाट बचाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री

२४ मङ्सिर, काठमाडौँ / सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार मानव अधिकारप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । मानव अधिकार राष्ट्रिय महाभेला, २०७७ को भर्चुअलरुपमा आज उद्घाटन गर्दै उनले सरकार सधैँ नागरिकको मानव अधिकारको रक्षाका निम्ति प्रतिबद्ध रहेको स्पष्ट गरे ।
“सरकार मानवअधिकार सुनिश्चित गर्न चाहन्छ, सधैँ सबै नागरिक सुरक्षा, शान्ति र प्रगतिका लागि काम गरिरहेको छ”, सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, “मानवअधिकार सुरक्षित गर्न सरकार सदा तयार छ, नागरिकले बाँच्नु पहिलो कुरा हो, मानवअधिकार हननका मुद्दाहरुलाई सम्बोधन गर्नुपर्ने त छँदैछ, अहिले कोभिडबाट बाँच्ने बचाउने कुरा मुख्य छ, त्यसबाट बचाउनका लागि सरकारले भरपूर प्रयास गरिरहेको छ ।”
उनले अहिले कोभिडको खोप पनि आउन लागेकामा खुशी व्यक्त गर्दै विकसित, विकासोन्मुख, अल्पविकसित र विकासोन्मुख देशले पनि खोपबाट लाभ लिन सकून् भन्नेमा सबै मानवाधिकारकर्मी लाग्नुपर्नेमा जोड दिए ।
मुलुकको विकासका र समृद्धिका लागि सरकारले गर्नुपर्ने कामका सूची उपलब्ध गराएर सहयोग गर्न आग्रह गर्दै उनले समाजका सबैले मानवअधिकारको सूचना पाउने हकको उपभोग गर्न इन्टरनेट सेवालाई गाउँगाउँ र जनताजनताबीच पु¥याउने अभियानमा सहयोग गर्न आग्रह गरे । “डिजिटल नेपालको अभियान नेपाल सरकारले ल्याएको छ, सूचना प्राप्त गर्नु पनि जनताको अधिकारको कुरा हो”, मन्त्री गुरुङले जोडे, “त्यो अभियानमा मानवअधिकारकर्मीलाई पनि लाग्न र सहयोग गर्न आग्रह गर्छु ।”
सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले आयोगले मानवाधिकारको सचेतना जगाउन र घरघरमा मानवाधिकार पु¥याउन काम गरिरहेको बताए । राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले १५औँ योजनाको नीति तथा कार्यक्रम मानवाधिकारमा आधारित विकासका दस्तावेज भएको उल्लेख गर्दै विकास, सामाजिक रुपान्तरणसँग जोडिएको जानकारी दिए।
मानव अधिकार महाभेलाका संस्थापक अध्यक्ष चरण प्रसाईंले मानवाधिकार हरेक नागरिकको घरघरमा लैजाने तथा शान्ति सम्झौताका बाँकी कुरा पूरा गर्ने उद्देश्यले महाभेलाको शुरुआत गरिएको जानकारी दिए।
गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जीताराम लामा, दलित गैरसरकारी संस्था महासङ्घका अध्यक्ष भक्त विश्वकर्मा, महिला अधिकारकर्मी डा रेणु अधिकारीलगायतले विश्वमा निर्मित कोरोना खोप नेपालमा सुलभ र सहज रुपमा ल्याई मानवाधिकार रक्षाका लागि लाग्न आग्रह गरे ।
नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेपे्रजले विश्वभरि कोभिडका कारण मानवाधिकार सङ्कटमा परेको हुँदा सबैले मिलेर रक्षा गर्नुपर्ने धारणा राखे । तेजाबपीडित मुस्कान खातुनले तेजाब आक्रमणमा परेका महिलाको अधिकारको रक्षा गर्न बनेको कानूनको प्रभावकारी कार्यान्वयन गरी समाजमा चेतना ल्याउनुपर्ने माग गरे ।
सो अवसरमा मानवाधिकारसम्बन्धी वेबसाइट समेत उद्घाटन गरिएको थियो ।
मानवाधिकार महाभेला सम्मान घलेलाई
महाभेलाले मानव अधिकार राष्ट्रिय महाभेला सम्मान २०७७ सामाजिक न्यायका लागि निरन्तरण काम गरेका भद्रमान घलेलाई प्रदान गरेको छ । त्यस्तै पद्मरत्न तुलाधर राष्ट्रिय मानवअधिकार तथा शान्ति पुरस्कार २०२० द्वारा पूर्वसभामुख तथा मानवअधिकारकर्मी दमननाथ ढुङ्गानालाई रु ५० हजार र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ भने शान्तलक्ष्मी श्रेष्ठ राष्ट्रिय महिला मानवअधिकार पुरस्कार, २०२० रोक्का मगरलाई प्रदान गरिएको छ । उक्त पुरस्कार छनोट समितिका संयोजकमा समाजकल्याण परिषद्का उपाध्यक्ष डा पद्मप्रसाद खतिवडा थिए ।
बहत्तरौँ अन्तराराष्ट्रिय मानवअधिकार दिवस ‘रिकभर बेटर स्टयाण्ड फर ह्युमन राइटस’ भन्ने अन्तरराष्ट्रिय नारा र ‘महामारीमा मानवअधिकारः स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार’ राष्ट्रिय नाराका साथ मानवअधिकार राष्ट्रिय महाभेला, २०७७ देशभर मनाइने भएको छ । महाभेलाको पाँचदिने कार्यक्रमको पहिलो दिन आज उद्घाटन गरी शुरु गरिएको हो ।
महाभेलाका संयोजक गोविन्दबहादुर शाहीले कोभिडका कारण नेपालमा पनि साढे दुई लाख मानिस सङ्क्रमित र एक हजारभन्दा बढीले ज्यान गुमाएका अवस्थामा जीवनरक्षाका लागि लाग्न सबैलाई आह्वान गरे ।
महाभेलाको सहसंयोजक संस्था मानवीय जवाफदेहिता अनुगमन अभियान हामी की गीता पाण्डेले दण्डहीनताको अन्त्य गर्न आग्रह गर्दै नेपालले राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकायमा गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गरे । महाभेलामा करीब २०० सङ्घसंस्थाले सहभागिता जनाएका छन् ।