२४ मङ्सिर, दमौली / तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा थाइराइडको परीक्षण गरिने भएको छ । गण्डकी प्रदेश सरकारले उपकरण उपलब्ध गराएपछि अस्पतालले थाइराइड परीक्षणको तयारी गरेको हो ।
प्रदेश सरकारले रु दश लाख मूल्य पर्ने उपकरण उपलब्ध गराएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । “अस्पतालमा विभिन्न सेवा थप गर्ने योजनाबमोजिम थाइराइड परीक्षण गर्ने उपकरण आइपुगेको छ, केही दिनभित्रै सेवा शुरु गर्छौ”, अधिकारीले भने ।
अस्पतालका मेडिकल सुपरिटेण्डेट डा। सुनिल पौडेल थाइराइड विशेषज्ञ छन् । उपकरण सञ्चालनका लागि ल्याबका प्राविधिकलाई तालिम दिइनेछ । “उपकरण जडान गर्ने बेलामा इन्जिनियर आएर तालिम दिएपछि लगत्तै सेवा शुरु हुन्छ”, अधिकारीले भने ।
जिल्लामै पहिलो पटक सरकारी अस्पतालमा थाइराइड सेवा परीक्षण हुनेछ । दमौलीस्थित एक निजी प्रयोगशालामा भने थाइराइडको परीक्षण हुँदै आएको छ । “सरकारी स्वास्थ्य संस्थामै उक्त सेवा शुरु हुने भएपछि महङ्गो शुल्क तिरेर अन्यत्र परीक्षण गर्न जान पर्दैन”, अधिकारीले भने ।
अस्पतालमा दुई दिन अगाडी मात्रै चार थान भेन्टिलेटर ल्याइएको थियो । अस्पतालले विभिन्न सेवा थप गर्दै लगेको छ । हालैमात्र अस्पतालमा दन्त सेवाका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ । अस्पताललाई सुविधासम्पन्न बनाउन पूर्वाधार थप गर्दै लगिएको अधिकारीले बताए ।
विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ । गत महिना मात्रै अस्पतालमा एनेस्थेसिया उपकरण जडान गरिएको थियो । बिना अक्सिजन शल्यक्रिया गर्न सकिने रु २० लाख बराबरको उक्त मेसिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको थियो ।
पन्ध्र शै्ययाको अस्पताललाई ५० शै्ययामा स्तरोन्नतिका लागि प्रदेश सरकार मातहत रहेका दुई सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन मुख्यमन्त्रीसँग अनुरोध गरिएको छ । कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन अस्पताल व्यवस्थापन समितिको माग छ ।
अस्पतालमा मातहतमा हाल साढे १५ रोपनी जग्गा रहेको र ५० शै्ययाको अस्पताल बनाउन कम्तिमा ३५ रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ । अध्यक्ष अधिकारीले अस्पताल स्तरोन्नति गर्न सकिए विशेषज्ञसहितको सेवा दिन सकिने बताए ।