बाग्मती

एकीकृत टेलिफोन डाइरेक्ट्रीको विधेयक सङ्ग्रह सार्वजनिक

२४ मङ्सिर, मकवानपुर / वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङले सचिवालयद्वारा प्रकाशित प्रदेशसभाबाट पारित गरिएको विधेयक सङ्ग्रहसहितको एकीकृत टेलिफोन डाइरेक्ट्रीको आज यहाँ सार्वजनिक गरेका छन् ।
सो आयोजित समारोहलाई सभामुख श्रेष्ठले सम्बोधन गर्दै प्रदेशसभाले जनताको हितका लागि राष्ट्रिय सरोकारसँग सम्बन्धित विधेयकलाई उच्च प्राथमिकताका साथ पारित गरी सरकारलाई मार्गदर्शन गरिएको बताए । उक्त अवसरमा उपसभामुख तामाङले प्रदेश सरकारलाई सुशासन ल्याई जनताप्रति जिम्मेवार बनाउनेतर्फ प्रदेशसभाले मार्गदर्शन गर्नुका साथै नीति निर्माण तहमा गहन अध्ययन गरी विधेयकलाई कार्यान्वयन गर्नेतर्फ प्रदेशसभाले सरकारलाई गतिशील तुल्याउन सक्षम रहेको बताए ।
त्यस्तै, प्रदेशसभाका सचिव कृष्णहरि खड्काले प्रदेशसभाकोे पहिलो अधिवेशनदेखि छैटौँ अधिवेशनसम्म पार गर्दा १७६ बैठक सम्पन्न भएको उल्लेख गरे । उनले छैटौँ अधिवेशनमा प्रदेशसभाका २४ बैठक बस्नुका साथै सात परामर्श समितिका बैठकमा छलफल गरिएको पनि बताए । प्रदेशसभाको छैटौँ अधिवेशनमा १० विधेयक र दुई अध्यादेश पनि पारित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।