समाचार

बिनादर्ता सञ्चालनमा रहेका १७ वटा वालुवा प्रशोधन केन्द्र सिल

२६ मंसिर, नवलपरासी । पूर्वी नवलपरासीमा बिनादर्ता सञ्चालनमा रहेका १७ वटा वालुवा प्रशोधन केन्द्र प्रशासनले सिल गरिदिएको छ ।

जिल्ला प्रशासन कार्यालय नेतृत्वको अनुगमन टोलीले बिहीबार त्रिवेणी गाउँपालिकामा रहेका बालुवा प्रशोधन केन्द्र सिल गरेको हो । उक्त गाउँपालिकामा सबैभन्दा धेरै क्रसर र बालुवा प्रशोधन केन्द्र छन् ।

प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले ती उद्योग कम्पनी रजिस्ट्रारको कार्यालय, घरेलु तथा साना उद्योग र गाउँपालिका कार्यालय कतै पनि दर्ता नरहेको जानकारी दिइन् । खोला र पुलबाट ५ सय मिटरसम्म क्रसर सञ्चालन गर्न नपाइने भए पनि जिल्लाका दुई दर्जनभन्दा बढी क्रसर उद्योग खोला किनारमै छन् ।

दुई साताअघि हुप्सेकोट र कावासोतीमा पनि दुईवटा बालुवा प्रशोधन केन्द्र सिल गरिएका थिए । तीन सातायता प्रशासनले यहाँका क्रसर र बालुवा प्रशोधन केन्द्रको अनुगमन तीव्र पारेको छ ।