२७ मङ्सिर, बुटवल / रुपन्देहीको सैनामैना नगरपालिकामा प्रथम सैनामैना खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आजदेखि शुरु भएको छ । सैनामैना ब्याडमिन्टन क्लबको आयोजनामा वडा नम्बर ३ मुर्गियास्थित कभर्ड हलमा प्रथम राष्ट्रिय खुला मेन्स डबल तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता सञ्चालन भएको हो ।
प्रतियोगिताको नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले उद्घाटन गर्दै यस वर्ष वडा नम्बर ६ मा पनि लुम्बिनी प्रदेशको सहयोगमा व्यवस्थित कभर्ड हल निर्माण गरिने जानकारी दिए । उनले भने, “नगर एउटा खेल पर्यटनको हिसाबले पनि विकास होस् भन्ने उद्देश्यसहित क्रिकेट एकेडेमी, फुटबल स्टेडियम, कभर्ड हलका कामहरु अघि बढ्नाका साथै खेल मैदानहरु स्तरोन्नति भइरहेको छ । ”
रुपन्देही ब्याडमिन्टन संघका उपाध्यक्ष महेन्द्र श्रेष्ठले प्रतियोगिताले स्थानीयस्तरका खेलाडीलाई राष्ट्रियस्तरको बनाउन ठूलो भूमिका खेल्ने धारणा राख्दै तीनै तहका सरकारलाई खेल क्षेत्रको विकासका लागि विशेष ध्यान दिन आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेता फडिन्द्र शर्मा र नेकपा सैनामैना इञ्चार्ज खुशीराम चौधरीले ब्याडमिन्टन प्रतियोगितामा महिलालाई पनि प्राथमिकता दिएर सँगसँगै अगाडि बढाउन सुझाव दिए । राष्ट्रिय खेलकुद परिषद् ब्याडमिन्टन संघका प्रमुख प्रशिक्षक सुदीप योन्जन र संघका रेफ्री उदय अर्यालले खेलाडीका तर्फबाट शपथ लिएका थिए ।
नगरपालिकाको रु एक करोड ६ लाख, जिल्ला खेलकुद विकास समितिको रु १० लाख, जिल्ला समन्वय समितिको रु १० लाख तथा जनश्रमदानबाट रु पाँच लाख गरी कूल रु एक करोड ३१ लाखका लागतमा सैनामैना ब्याडमिन्टन कभर्ड हल निर्माण गरिएको थियो । उक्त हलमा शुरु भएको राष्ट्रियस्तरको प्रतियोगितामा काठमाडौँ, कास्की, चितवन, मकवानपुर, स्याङ्जा, कास्कीलगायत जिल्लाबाट ५० समूहको सहभागिता रहेको ब्याडमिन्टन प्रतियोगिताका खेल संयोजक धर्म न्यौपानेले जानकारी दिए ।
राष्ट्रिय खुला मेन्स डबलको पुरस्कारमा क्रमश प्रथम रु ५१ हजार, द्वितीय रु ३५ हजार र तृतीयलाई रु २० हजारसहित ट्रफी र प्रमाणपत्र तथा भेट्रानतर्फ क्रमशः प्रथम रु ३० हजार, द्वितीय रु २० हजार र तृतीयलाई रु १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।