समाचार

थारु आयोग चितवनद्वारा गुरौका ज्ञान संरक्षण गर्न माग

३० मङ्सिर, भरतपुर / थारु समुदायको परम्परागत ज्ञान, सीप तथा प्रविधि संरक्षण गर्ने ध्येयले सौराहामा थारु गुरौको भेला सम्पन्न भएको छ । थारु आयोग चितवनद्वारा आयोजित सो कार्यक्रममा स्थानीय जनप्रतिनिधिको पनि सहभागिता रहेको थियो ।
थारु समुदायमा सदियौंदेखि विभिन्न महामारी, रोगव्याधि, जङ्गली जनावरबाट बच्न र बचाउन गुरौको परम्परागत ज्ञानकै सहारा लिने गरिएको छ । “हामीले लकडाउन र क्वारेन्टिन विभिन्न महामारीको समयमा सयौंवर्षदेखि बरनाको रुपमा प्रयोग गर्दै आएका थियौ” सहभागी गुरौहरुले भने । उनीहरुले परिवार नियोजनको लागि जडीबुटीकै सहयोग लिने गरेको जानकारीे दिए ।
सामान्य रोगव्याधिदेखि हाडजोर्नी, सरुवा रोग नियन्त्रणलगायत रोगको उपचार अहिले पनि गुरौहरुले गर्ने गरेका छन् । उनीरुले थारु परम्परागत ज्ञान, सीप र प्रविधि व्यावसायिकरण र पुस्तान्तरण हुन नसकी लोपोन्मुख अवस्थामा रहेकोमा चिन्ता व्यक्त गरे । कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले गुरौका ज्ञान, सीप र प्रविधि संरक्षण र बौद्धिक सम्पत्ति संरक्षण गर्न आयोगले पहल गरिरहेको जानकारी दिए ।
थारु कल्याणकारिणी सभाका जिल्ला सभापति ललितकुमार चौधरीले थारु आयोगले थारु समुदायको राजनीतिक पहुँच वृद्धि हुने कार्यक्रमलाई सबै भन्दा प्राथमिकताका साथ अगाडि लैजान सुझाव दिए ।
थारु कल्याणकारिणीसभा नवलपरासीका सभापति रामप्रसाद महतोले थारु समुदायको पराम्परागत ज्ञान, सीप वैज्ञानिक र व्यवहारिक भए तापनि सरकारले कानूनी मान्यता दिन नसक्दा लोप हुन लागेको गुनासो गरे । कार्यक्रममा आयोगका उपसचिव अञ्जुसिंह केसीले कार्यक्रमको औचित्यबारे र उपसचिव पद्मनिधि सोतीले आयोगबारे जानकारी प्रस्तुत गरेका थिए
साहित्यकार डा कृष्णराज सर्वहारीले थारु गुरौका ज्ञान, सीप र हरिमाया थनेतले थारु समुदायको थर सम्बन्धी प्रस्तुतीकरण गरेका थिए।