बाग्मती

भरतपुर बहुप्राविधिक शिक्षालयको भवन शिालन्यास

३० मङ्सिर, चितवन । भरतपुर महानगरपालिका–२३ मा भरतपुर बहुप्राविधिक शिक्षालय प्रशासनिक भवनको आज शिलान्यास गरिएको छ । भवनको महानगरप्रमुख रेनु दाहालले शिलान्यास गरेको हो । जगतपुरमा रहेको सरस्वती माविले भोकाधिकार दिएको जग्गामा भवनको शिलान्यास गरिएको हो । महानगरप्रमुख दाहालले प्राविधिक शिक्षालयले देश सुहाउँदो श्रम र सीपलाई सम्मान गर्दै सीपमार्फत रोजगारी सृजना गर्ने जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने बताए । बहुप्राविधिक शिक्षालय आवासीय अवधारणाअनुसार सञ्चालन हुने बताउँदै सङ्घ, प्रदेश, सिटिइभिटी र भरतपुर महानगरपालिकाले आवश्यक सहयोग गर्ने उनको भनाइ थियो ।

उनले प्राविधिक शिक्षाले महानगरमा ऐतिहासिक परिणाम दिने विश्वास व्यक्त गरे। महानगरले नगरवासीको चाहनाअनुसार सबै काम अघि बढाएको बताउँदै दाहालले विकासको काममा नगरवासीले अपनत्व महसुस गरेको जानकारी दिए ।

कार्यक्रममा भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतो, २४ का अध्यक्ष कान्छा मल्ल, २५ का अध्यक्ष विजय भुजेल, शिक्षालयका प्रमुख बज्रमोहन पौडेललगायतले बोलेका थिए । वडा नं २३ का वडाध्यक्ष नरिनारायण पौडेलको अध्यक्षतामा सम्पन्न शिलान्यास समारोहमा शिक्षालयका प्रमुख पौडेलले तीन बिगाह क्षेत्रफलमा शिक्षालय निर्माण गर्न लागिएको जानकारी दिए । एक करोड तीन लाखको लागतमा दुईतले भवन निर्माण गरिँदैछ । शिक्षालयको गुरुयोजना निर्माणको काम भइरहेको उनले बताए । शिक्षालयले यसै शैक्षिक सत्रमा होटल व्यवस्थापनको पढाइ शुरु गर्दैछ ।