बाग्मती

समाजलाई सकारात्मक सन्देश प्रवाह गरेर आमाको किरिया गर्दै छोरी

३ पुस, चितवन / समाजलाई सकारात्मक सन्देश प्रवाह गर्दै महिला अधिकारका क्षेत्रमा अग्रणी मीना खरेल यतिबेला आमाको किरियामा छन् । सोह्र वर्षअघि पनि उनले बाबुको किरिया गरेर काजकिरिया गर्न छोरा नै चाहिन्छ भन्ने सामाजिक मान्यताको विरुद्ध उभिएके थिईन् । त्यसयता धेरै छोरीले बाबुआमाको किरिया गर्ने गरेका छन् ।
छोराले मात्र बुबाआमालाई दागबत्ती दिने र किरिया बस्नुपर्छ भन्ने परम्पराको अन्त्य गर्दै अधिकारकर्मी खरेलले दाजुहरुसँगै आमाको किरिया बसेका हुन् । गत मङ्सिर २३ गते ८६ वर्षको उमेरमा आमा झगडी खरेल पार्वतीको मृत्यु भएपछि अधिकारकर्मी खरेल आफ्ना दाजु युवराज खरेलसँगै कोरामा बसेका हुन् ।
समाज परिवर्तनको संवाहक छोरी पनि हुन सक्छ भन्ने मान्यताअनुसार आफू किरिया बसेको उनले बताए । उनले भने, “बाबुआमाप्रति छोराछोरी दुवैको बराबर अधिकार र जिम्मेवारी रहन्छ ।”
मीनाले आमाको शवको अन्तिम संस्कार गरे, चितामा दागबत्ती दिए र सेतो कपडा लगाएर कोरामा बसेका छन् । बाबुको किरिया बस्दा मीनालाई कोराभित्र बस्न परिवारले नदिए पनि मीनाले शास्त्रीय नियमअनुसार बाबुको मृत्यु संस्कार गरे । त्यसपछि हिन्दूसंस्कारअनुसार बाबुको श्राद्ध मीना आफैँले गर्दै आएका छन् । पचपन्न वर्षीया अविवाहित मीनालाई यसपालि भने किरियामा बस्न परिवारले रोकेन ।
पण्डितले पनि शास्त्रमा छोरो छोरी समान भन्ने उल्लेख भएको जनाएपछि मीनालाई आफ्नो इच्छाअनुसार बस्न सहज भयो । “समय परिस्थिति बदलिँदै जाँदा छोरीले पनि छोरासरह मृतक बुबाआमाको काजकिरिया गर्नु सकारात्मक पक्ष हो” अधिवक्ता फुलमाया रानाभाटले भने, “बुबाआमाको पालनपोषण र अन्तिम संस्कारमा छोरीको सहभागिताले सांस्कृतिक परिवर्तन गरेको छ ।” भरतपुर महानगरपालिका–४ लकु घर भएकी स्व पार्वती खरेलका नौ छोरी र तीन छोरा हुनुहुन्छ । स्व खरेल आफैँ पनि सामाजिक अभियानमा तल्लीन थिए ।