गण्डकी प्रदेश

ताकुकोटमा बहुउद्देश्यीय सभागृह बन्दै

३ पुस, गोरखा / बारपाक सुलिकोट गाउँपालिका–६ स्थित ताकुकोटमा सुविधा सम्पन्न बहुउद्देश्यीय सभाहल निर्माण हुने भएको छ ।
करिब रु एक करोड २२ लाखको लागतमा सभाहल निर्माण हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए।
सभाहल निर्माणका लागि सिराइचुली निर्माण सेवा कम्पनीसँग ठेक्का सम्झौता गरी काम अघि बढाइएको उनले बताए । “आउँदो जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको हो”, प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने, “तोकिएका समयमा निर्माण सम्पन्न गर्न कम्पनीलाई निर्देशन दिएका छौँ ।” प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा हल निर्माण गर्न लागिएको उनको भनाइ छ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले बिहीबार सभाहलको शिलान्यास गरे । सो अवसरमा मन्त्री बस्नेतले तोकिएको समयमा निर्माणको काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । उनले विकास निर्माणको काममा कसैले आलटाल गर्न नहुने बताए ।
गाउँपालिकाभित्र सुविधा सम्पन्न सभाहल नहुँदा विभिन्न खालका कार्यक्रम, सेमिनार, गोष्ठीलगायत सञ्चालन गर्न समस्या हुँदै आएको छ ।