३ पुस, गण्डकी / मिलेनियम ट्रेक सहस्राब्दी पदमार्ग अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका–२ भैंसेगौंडामा प्रकृतिका साथी संस्थाको आयोजनामा वन्यजन्तु अनुसन्धान विधि तालीम शुरुआत भएको छ । विभिन्न जिल्लाका १३ जना सहभागीले तालीम लिइरहेको संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए ।
उन्नाइस दिने तालीमका क्रममा सहभागीले जङ्गलमा रहेका चरा, पुतली एवम् स्तन्धारी प्राणीको पहिचान, तिनको अनुसन्धान विधि आदि बारे जानकारी प्राप्त गर्ने उनले बताए ।
सहभागीलाई चरा, पुतली एवम् स्तन्धारी प्राणी सम्बन्धमा जानकार विषय विज्ञबाट पनि अध्यापन गराइने छ । तालीमपूर्व सहभागीको पिसिआर परीक्षण गरिएको र स्वास्थ्य सुरक्षा मापदण्डलाई आत्मसात गर्दै तालीम भइरहेको उनले जानकारी दिए ।
“कोरोना महामारी कै कारण तालीमका क्रममा गरिने सामाजिक सर्वेक्षण कार्यक्रम यस वर्ष भने स्थगित गरेका छौँ,” उनले भने।
सो संस्थाले विगत नौ वर्षदेखि तालीम आयोजना गर्दै आएको छ । यस अघि पर्वतको चित्रे र नवलपरासीमो तालीम सम्पन्न भइसकेको जनाइएको छ ।
भैंसेगौंडामा पर्याप्त प्रजातिका चरा एवम् वन्यजन्तु पाइने स्थल रहेको मिलेनियम भैसेगौंडा सामूदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिए । सो संस्थाले भैंसेगौंडामा आएर गरिएको यस किसिमको अनुसन्धानात्मक तालीमबाट आगामी दिनमा यहाँ पाइने चरा, पुतली तथा स्तनधारी प्राणीको थप अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।
“हामी मिलेनियम ट्रेकमा चरा पर्यटनको सम्भाव्यता अध्ययनका लागि पोखरा पक्षी समाजसँगको सहकार्यमा चरा गणनामा पनि लागेका छौँ,” मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्यसमेत रहेका उनले भने, “अघिल्लो वर्ष प्रकृतिका साथीको आयोजनामा सम्पन्न लाटोकोसेरो महोत्सवले यस क्षेत्रको गरिमा र महत्व अझै बढाएको छ ।”