बाग्मती

चितवनमा रक्तदानका लागि घुम्ती बस

३ पुस, चितवन / भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बसमा बसेर रक्तदान गरेका छन् । गैरआवासीय नेपाली सङ्घले रगत सङ्कलन गर्न प्रदान गरेको घुम्ती बसमा बसेर आज पहिलो पटक रक्तदान गर्दै शुभारम्भ गरेका हुन् ।
भन्सार र कर छुट बाहेक भारतीय रु ३५ लाखको लागतमा सङ्घले बस खरिद गरी क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरलाई हस्तान्तरण गरेको हो ।
सो अवसरमा महानगर प्रमुख दाहालले मेडिकल सिटीको कुरा मात्रै गरेर नहुने जनाउँदै काम गरेर देखाउने समय आएको बताए। सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोले विकासका लागि अहिले सङ्कल्पको आवश्यक रहेको बताए। उनले भने “व्यक्ति समृद्ध भएर हुँदैन राष्ट्र समृद्ध हुनुपर्छ । यसका लागि सङ्कल्पको खाँचो छ ।”
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष सीताराम कोइराला, सोसाइटीका शाखाका सभापति ज्ञानशाली न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला नेता तेजेन्द्र खड्कालगायतले रक्तदानका बारमा चर्चा गरेका थिए । यसैगरी नेपाली कांग्रेसका जिल्ला सहसचिब सूर्य अर्याल, गैर आवासीय नेपाली सङ्घका सचिव आरके शर्मा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु श्रेष्ठ, उद्योग सङ्घका अध्यक्ष राजु पौडेल, क्षेत्रीय रक्त सञ्चार केन्द्रका प्रमुख रमेशकान्त पौडेललगायतले बस आएसँगै रगतको अभाव कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
रक्तदानका लागि आवश्यक पर्ने अत्याधुनिक सुविधा सम्पन्न उपकरण जडान गरिएको बस बागमती प्रदेशमै पहिलो हो । पोखरामा यस प्रकारको बस रहेको र नेपालमा यो दोस्रो भएको रक्त सञ्चार केन्द्रका प्रमुख पौडेलले जानकारी दिए । बसभित्र रक्तदान गर्ने, प्रेसर नाप्ने ठाउँ, रक्त सङ्कलनका लागि फ्रिज जस्ता उपकरण जडान गरिएको छ । बस प्राप्त भएसँगै बसभित्रै घुम्ती रक्तदानका कार्यक्रमहरु गर्न सहज हुने उनको भनाइ छ ।