४ मंसिर, काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ । प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र बृहत् लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी, जनजाति) पेशागत कानुन व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमानव शाक्यले गरेका छन ।
वरिष्ठ अधिवक्ता खनाल पूर्णरूपमा कानुनी पेशामा समर्पित छन् भने अर्का वरिष्ठ अधिवक्ता शाक्य प्रोफेसर पनि हुन् । सर्वोच्च बारका प्रमुख निर्वाचन अधिकृत राजु खड्काका अनुसार सर्वोच्च बारमा सदस्य जम्मा ६०५ जना कानुनी व्यवसायीले मतदान गर्दैछन् । बिहान ८ बजेदेखि २ बजेसम्म निर्वाचनको समय तोकिएको छ ।
सर्वोच्च बारका सदस्यमा कोभिडको सङ्क्रमण भएको सदस्य भएमा लाइनमा नबसीकन सीधै मतदान गर्ने व्यवस्था गरिएको छ । सर्वोच्च बारले यसपटक मत माग्दै प्रचारप्रसारको सामाग्री कागज बाँड्ने काममा प्रतिबन्ध लगाएको छ ।