५ पुस, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–१ सिरखोलीसैनवासीलाई सिँचाइ गर्न सहज हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको एक करोड ३० लाखको लगानीमा उक्त वडामा सेती नदीबाट पानी तानी लिफ्ट प्रविधिबाट सिँचाइको व्यवस्था गर्न लागिइएको हो ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दिपायल राजपुरमार्फत उक्त योजना निर्माण गरिनेछ । नदीबाट करिब ५५० मिटर उचाइमा लिफ्टबाट पानी तानेर करिब एक हजार ५०० रोपनी जमीनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको छ । उक्त योजनाको दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी र नेकपा डोटीका अध्यक्ष चक्र मल्लले संयुक्तरुपमा शिलान्यास गरेका छन् । चालू आर्थिक वर्षमा ६० लाख रकम बराबरको काम सम्पन्न गरिने र बाँकी काम आगामी आर्थिक वर्षमा पूरा गरिने सिरखोलीसैन सेती नदी लिफ्ट सिँचाइ योजना जल उपभोक्ता समितिका उपाध्यक्ष लोगबहादुर बलायरले जानकारी दिए।
उक्त सिँचाइ योजनाबाट सिरखोलीसैन गाउँका १६९ घरधुरीका करीब एक हजार ५०० नागरिक लाभान्वित हुने जनाइएको छ । सो अवसरमा नगर प्रमुख मलासीले किसानले व्यावसायिक तरकारीखेती गरेर उत्पादन बढाएमा नगरपालिकाबाट आगामी आर्थिक वर्षमा ५० लाख बजेट छुट्याएर सिरखोलीसैनलाई तरकारी पकेट क्षेत्रका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा नेकपा डोटीका अध्यक्ष मल्लले शिरखोलीसैन गाउँका लागि शिलान्यास गरिएको सिँचाइ योजना अवसर भएको बताए ।