५ पुस, दमौली । घरबास र सांस्कृतिक कार्यक्रम पर्यायवाची नै हो । घरबासमा पुग्ने पाहुना सांस्कृतिक कार्यक्रममा रमाउन चाहन्छन् । सोही कुरालाई मध्यनजर गर्दै तनहुँको भीमाद नगरपालिका–९ पाथर्दी सामुदायिक घरबास समितिले स्थानीय युवतीलाई कौरा नृत्य प्रशिक्षण प्रदान गरेको छ ।
गत वर्षदेखि शुरु भएको पाथर्दी सामुदायिक घरबासमा पर्यटकलाई आकर्षित गर्न समितिले पहिलोपटक यहाँका युवतीलाई कौरा नृत्य प्रशिक्षण दिएको हो । मगर समुदायमा निकै प्रचलित रहेको कौराले पर्यटक आकर्षित गर्न सक्ने भएकाले यहाँका युवतीलाई सहभागी गराइ कौरा नृत्य प्रशिक्षण गराइएको पाथर्दी सामुदायिक घरबास समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिए ।
“घरबासमा आउने पर्यटकलाई स्वागत गर्न र नयाँपन दिन कौरा नृत्य देखाउन युवतीलाई यसबारेमा प्रशिक्षण दिएका छौँ”, उनले भने। सामुदायिक घरबास समितिको सांस्कृतिक विभागले २० जना युवतीलाई सहभागी गराई नृत्य सिकाएको छ । “पर्यटन र कृषिलाई सँगसँगै अगाडि बढाउने उद्देश्यले घरबास सञ्चालन गरेका हौँ”, उनले भने, “यसमा सांस्कृतिक पाटो पनि जोडिन्छ ।”
मौलिक कला र संस्कृति जगेर्ना गर्दै थालिएको कौरा नृत्य प्रशिक्षणले पर्यटकलाई आकर्षित गर्नुका साथै संस्कृति संरक्षणमा पनि टेवा पुग्ने सोही वडाका अध्यक्ष इमानबहादुर थापाले बताए । नृत्य निर्देशक सर्जन थापा मगरले युवतीलाई कौरा नृत्य प्रशिक्षण दिएका छन् ।
समितिका अध्यक्ष आलेका अनुसार यहाँका १० घरमा घरबास सञ्चालन गरिएको छ । यहाँ आउने पर्यटकलाई अर्गानिक खानेकुरा दिइन्छ । बोयर जातको बोकाको स्रोत केन्द्रका रुपमा परिचित यस गाउँमा प्रत्येक घरधुरीले व्यावसायिकरुपमा बाख्रापालनसमेत गरिरहेका छन् । अध्यक्ष आलेका अनुसार पर्यटकलाई भट्ट, कोदोको रोटी, ढिँडो, लोकल कुखुरा, निउरो लगायतका खानेकुरा दिइन्छ ।
“गत वर्षदेखि घरबास सञ्चालन गरिएको भए पनि केही व्यवस्थापनका काम अझै गर्न बाँकी छ”, आलेले भन्नुभयो, “तयारी हुँदै गर्दा कोरोनाले प्रभावित भयो ।” उनका अनुसार अहिले घरबास खुला नगरिएको र केही समयभित्रै सबै व्यवस्थापन सकाएर घरबास शुरुआत गरिनेछ ।
यहाँ आउने पर्यटकलाई सोही वडामा रहेको सिद्ध गुफा, चुलिडाँडा, इलुङ झरना लगायतको पनि भ्रमण गराइनेछ । पाथर्दी गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषि गाउँसमेत हो ।
भूमि समस्या समाधानका लागि छलफल
भूमिसम्बन्धी समस्या समाधानका लागि गठित आयोगले जिल्लाका विभिन्न ठाउँमा पुगेर यसको कार्यविधिबारे स्थानीयवासीसँग छलफल अगाडि बढाएको छ । जिल्लाका छ स्थानीय तहमा भूमि समस्या समाधानका लागि सम्झौता गरिएपछि आयोगले यसका लागि स्थानीयवासीसँग छलफल अगाडि बढाएको हो ।
यसैक्रममा भानु नगरपालिका–१, ३, ८ र ९ मा स्थानीयवासीसँग आयोगले अन्तक्र्रिया गरेको छ । आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यविधि स्थानीयवासीलाई जानकारी गराएका छन् ।
उनले जिल्लाका विभिन्न ठाउँमा पुगेर भूमिहीन जनतासँग छलफल गरिने जानकारी दिए । संविधानमा मौलिक हकका रुपमा प्रत्येक नेपालीले आवास र जमिनको व्यवस्था हुन्छ भनेर लेखिएकाले सोहीबमोजिम पूर्जा वितरण हुने उनले बताए । “यस अगाडिका आयोगबाट जग्गा पाएनाँै, यसपाली पनि पाइँदैन की भन्ने नठान्नुहोला । पूर्जा पाउनुहुन्छ, ढुक्क हुनुहोस्”, उनले भने ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतृ ओमकुमारी पौडेलले सरकारले भूमिहीनलाई जग्गा दिने उद्देश्यसहित काम अगाडि बढाएकामा खुशी व्यक्त गर्दै यसपटक जसरी पनि भूमिहीनले लालपूर्जा पाउनुपर्नेमा जोड दिए।
आयोगले बिहीबार मात्रै तनहुँको शुक्लागण्डकी नगरपालिकामा पनि स्थानीयवासीसँग छलफल सम्पन्न गरेको छ । आयोगले जिल्लाका व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र देवघाट गाउँपालिकासँग सम्झौता गरेको छ । आयोगको जिल्ला समिति गठन नभइसकेकाले सम्बन्धित पालिकासँग समन्वय गरेर काम गर्नेगरी सम्झौता भएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्न प्रत्येक व्यक्तिको घरघरमै पुगेर फाराम भरिनेछ । माघको पहिलो हप्ताबाट तथ्याङ्क सङ्कलन हुने र असार महिनाभित्र सम्झौता गरेका पालिकामा अव्यवस्थित बसोवासीलाई लालपूर्जा वितरण गर्ने आयोगको तयारी छ ।
आप्रवासी स्रोत केन्द्रबाट १५२६ लाभान्वित
चार स्थानीय तहमा लागू भएको सुरक्षित आप्रवासन (सामी) परियोजनामार्फत एक हजार ५२६ जना लाभान्वित भएका छन् । गत मङ्सिर १ गतेदेखि शुरु भएको परियोजनामार्फत चार स्थानीय र अन्य स्थानीय तहका गरी एक हजार ५२६ लाई सेवा दिएको हो ।
स्रोत केन्द्रबाट व्यास नगरपालिकाका ३८५, भानु नगरपालिकाका १९४, शुक्लागण्डकी नगरपालिकाका २५३ र म्याग्दे गाउँपालिकाका १६८ लाभान्वित भएको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजना जिल्ला संयोजक लुना रानाले जानकारी दिए । त्यस्तै अन्य स्थानीय तहका ५२६ जना लाभान्वित भएका छन् ।
यस अवधिमा स्रोत केन्द्रले ४३ जनालाई सीप तालीमका लागि सिफारिस गरेको छ । व्यासका छ, भानुका तीन, शुक्लागण्डकीका आठ, म्याग्देका १६ र अन्य स्थानीय तहका १० जनालाई सीपमूलक तालीममा सिफारिस गरेको रानाले बताए । व्यासका ३८८, भानुका २२१, शुक्लागण्डकीका ४०० र म्याग्देका ४१० गरी एक हजार ४०९ लाई रिटर्नी परिचालन गरिएको छ ।
स्रोत केन्द्रमा ११२ ठगीका मुद्दाका दर्ता भएकामा सात वटा मुद्दा फछ्र्यौट भएको छ । व्यासका दुई र म्याग्देका पाँच ठगीका मुद्दामा पीडितलाई न्याय दिइएको केन्द्रले जनाएको छ । जसबाट सात लाख ७० हजार पीडितले प्राप्त गरेका छन् । व्यासका दुई जनाको तीन लाख र म्याग्देका पाँच जनाको रु चार लाख ४० हजार रकम फिर्ता भएको संयोजक रानाले बताए ।
केन्द्रमा व्यासका २८, भानुका १२, शुक्लागण्डकीका २२, म्याग्देका ३४ र अन्य स्थानीय तहका १६ मुद्दा दर्ता भएका थिए । त्यसमध्ये भानु, शुक्लागण्डकी र अन्य स्थानीय तहका मुद्दा प्रक्रियामा छ । केन्द्रमार्फत लकडाउनको अवधिमा ५३ जनालाई विभिन्न देशबाट उद्धार गरिएको छ । व्यासका सात, भानुका ११, शुक्लागण्डकीका ११, म्याग्देका ११ र अन्य स्थानीय तहका १३ जनाको उद्धार गरिएको छ ।
केन्द्रको पहलमा पीडितले ७१ लाख ४५ हजार ८२८ आर्थिक सहायता क्षतिपूर्ति प्राप्त गरेका छन् । व्यासमा ४३ लाख १४ हजार ३०५, शुक्लागण्डकीमा चार लाख ३२ हजार ४४२, म्याग्देमा दुई लाख ९९ हजार ८१ र अन्य स्थानीय तहमा २१ लाख क्षतिपूर्ति प्रदान गरिएको छ ।
केन्द्रले यस अवधिमा ५४४ जनालाई मनोसामाजिक परामर्श सेवा दिएको छ । व्यास नगरपालिकाका १९०, भानुका १३३, शुक्लागण्डकीका १०६, म्याग्देका १२० जनालाई मनोसामाजिक परामर्श दिइएको केन्द्रले जनाएको छ ।
केन्द्रमार्फत सामूहिक, क्वारेन्टिन, आइसोलेशन र टेलिफोनमार्फत परामर्श सेवा प्रदान गरिएको छ । त्यस्तै केन्द्रले २५१ जनालाई वित्तीय साक्षरता प्रदान गरेको छ । व्यासका ३१, भानुका ७२, शुक्लागण्डकीका ८१ र म्याग्देका ६७ जनालाई वित्तीय साक्षरता प्रदान गरिएको छ ।
सुरक्षित आप्रवासनसम्बन्धी सूचना दिने र सूचनाको पहुँच अभिवृद्धि गर्न जिल्ला प्रशासन कार्यालय तनहुँमा केन्द्र स्थापित छ । स्रोत केन्द्रका कर्मचारीले जिल्ला प्रशासन कार्यालयमा वैदेशिक रोजगारीका लागि विदेश जान राहदानी बनाउन पुगेका युवालाई विदेश जानुपूर्व गर्नुपर्ने कामका बारेमा जनचेतना अभिवृद्धि गर्ने जस्ता काम गरेका छन् ।
सरकार र स्वीस सरकारबीच सम्पन्न द्विपक्षीय सम्झौताअन्तर्गत हेल्भेटास ९स्वीस इन्टर कोअपरेशनसको प्राविधिक सहयोगमा स्थानीय तहबाट कार्यान्वयन हुने तेस्रो चरणको सुरक्षित आप्रवासन ‘सामी’ परियोजना सञ्चालनका लागि जिल्लामा ग्रामीण सशक्तीकरण समाजले उक्त परियोजना सञ्चालन गर्दै आएको छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सञ्चालन गरिएको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन तेस्रो परियोजना (सामी) परियोजनाअन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि सुरक्षित वैदेशिक रोजगार परामर्श कार्यक्रम, कानूनी सेवा र फर्किएका युवाका लागि सामाजिक पुनःस्थापनालगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।