५ पुस, स्याङ्जा / समस्याको विषय बन्दै आएका छाडा चौपायाको व्यवस्थापनका लागि वालिङमा गौशाला सञ्चालनमा ल्याइएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना विकेन्द्रित सहयोग एकाइ पोखराको रु १५ लाख र वालिङ नगरपालिकाको रु १५ लाख गरी रु ३० लाखको लागतमा वालिङ नगरपालिका–८ र १० मा पर्ने घ्वाङ्खोला सामुदायिक वनको गौचरन क्षेत्रमा स्वार्गाश्रमा गौशाला निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।
छाडा चौपायाले किसानको खेतीबाली खानाका साथै सडकमा दुर्घटनासमेत बढाएकाले गौशाला सञ्चालनमा ल्याइएको वालिङ नगरपालिका–१० का अध्यक्ष अनन्तराज गैरेले बताए । गैरेले भने, “अन्नबाली छाडा चौपायाले खाएर क्षति पु¥याएको भन्दै पटकपटक किसानबाट गुनासो आएपछि हामीले सामुदायिक वनको करीब १३० हेक्टर चरन क्षेत्रमा गौशाला निर्माण गरेर सञ्चालनमा ल्याएका हौँ ।” शुरुको केही महिना ८ नंको वडाध्यक्ष कमल सुवेदी र आफूले खर्च बेहोर्ने गरी दुईजना गाई हेरालु राखेको र सहयोग उठाएर दानपानीको व्यवस्थान गर्दै आएकामा अहिले गौशाला व्यवस्थापन समितिको गठन गरेर सञ्चालनको जिम्मा समितिलाई दिएको र आफूहरुले आवश्यक सहयोग गर्दै आएको अध्यक्ष गैरेले बताए ।
स्वार्गाश्रम गौशाला व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पराजुलीले मानव कल्याणका लागि गाईको धेरै महत्व रहेकाले आफूहरु छाडा चौपायासँगै गाईको व्यवस्थापनमा लागेको बताए । उनले दाताहरुको सहयोगमा राम्रोसँग व्यवस्थापन गरेर गौशाला सञ्चालन गरिएकोे बताए । गाईको मलमूत्रका साथै दूधबाट विभिन्न परिकारका सामग्रीसमेत निर्माण गर्ने योजनाअनुसार आफूहरुले काम गरिरहेको र सबैलाई यो अभियानमा सहयोग गर्नसमेत उनले आग्रह गरे ।
छाडा चौपायाको व्यवस्थापनमा जुटेका वडाध्यक्ष सुवेदीले दुई जना गाई हेरालु गौशालामै बसेर दिउँसोमा गाईलाई चराउनका लागि लैजाने र साँझबिहान गौशालामै रेखदेख गर्ने गरेको बताए । वालिङ बजारदेखि केहीमाथि डाँडाको एकान्त ठाउँमा निर्माण गरिएको गौशालाबाट बजारवासीले गहुत ल्याएर उपभोगसमेत गर्ने गरेका छन् । बिहान घुम्न जानेहरुले गौशालासम्म पुगेर बोतलमा गाईको गहुत लिएर फर्कने गरेको गौशाला व्यवस्थापन समितिले जनाएको छ । छाडा चौपायाको व्यवस्थापनले किसानको अन्नबालीमा क्षति हुनबाट जोगाएको छ भने दैनिकरुपमा गौशालामा बढ्दै गएका चौपायाको व्यवस्थापनमा भने चुनौती बढ्दै गएको छ । अहिले गौशालामा ३४ वटा गाई रहेका छन् ।