५ पुस, गलकोट / भूकम्पले क्षति पु¥याएको बागलुङ नगरपालिका–११ रायडाँडास्थित शान्ति बौद्ध विहार गुम्बाको पुनःनिर्माण थालिएको छ । विसं २०७२ को भूकम्पले क्षति पु¥याएको उक्त बौद्ध गुम्बाको ५ वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गर्न थालिएको छ । रायडाँडाको हलहलेस्थित रहेको गुम्बाको पुनःनिर्माण प्राधिकरण र शान्ति विहार बौद्ध गुम्बाको साझेदारीमा पुनःनिर्माण थालिएको हो ।
विसं २०६२ मा स्थापित गुम्बा २०७० मा विधिवत् दर्ता भएर सञ्चालनमा आए पनि २०७२ सालको भूकम्पले क्षति पु¥याएका कारण पुनःनिर्माण गर्न थालिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङका प्रमुख रेणुका पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार रु ६१ लाखको लागतमा ८०० वर्गमिटर गुम्बा निर्माण गर्न थालिएको हो । रु ६१ लाखमध्ये प्राधिकरणले रु ४० लाख र रु २१ लाख स्थानीय तह तथा श्रमदानबाट जुटाएर निर्माण गरिनेछ । एक भिक्षुले नियमित पाठपूजा गर्दै आएको उक्त गुम्बा भूकम्पले क्षति पु¥याएपछि पुनःनिर्माणका लागि पहल थालिएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र स्थानीय जनश्रमदानमा पुरानो गुम्बा भत्काएर भूकम्प प्रतिरोधी गुम्बा निर्माण थालिएको शान्ति बौद्ध विहार गुम्बा रायडाँडा निर्माण समितिका अध्यक्ष रणबहादुर थापाले जानकारी दिए । “रायडाँडामा ६२ सालदेखि सञ्चालनमा आएको गुम्बा भूकम्पले क्षति पु¥याएको थियो”, थापाले भने, “क्षति पु¥याएको गुम्बा भत्काएर नयाँ निर्माणको काम थालेका छौँ ।”
पहिला सानो ढुङ्गामाटोको गुम्बा भत्किएका कारण पुनःनिर्माण थालिएको हो । यही असार १० गतेसम्म सक्नेगरी भूकम्प प्रतिरोधी गुम्बा निर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता भइसकेको छ । गुम्बा निर्माणका लागि अपुग रु २१ लाखमध्ये केही बजेट बागलुङ नगरपालिकासँग समेत माग गरिएको रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए । नयाँ निर्माण गरेको गुम्बामा पुरानो गुम्बामा रहेको बुद्धको मूर्ति प्रतिस्थापन गरिने निर्माण समितिले जनाएको छ ।