६ पुस, पोखरा / प्राकृतिक स्रोत र साधन सबैैको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा साझा धारणा हुनुपर्नेमा जोड दिइएको छ । सञ्चारिका समूह नेपालको आयोजनामा पोखरामा भएको वातावरणीय संरक्षण तथा लैङ्गिक समानता र सामाजिक समावेशीकरण विषयक अभिमुखीकरण कार्यक्रममा पृथ्वी सबैको साझा भएकाले यसको पर्यावरण जोगाउने जिम्मेवारी पनि सबैको साझा हुनेमा विज्ञहरुले जोड दिए ।
कार्यक्रममा गण्डकी प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केदारनाथ शर्माले पछिल्लो समय जलवायु परिवर्तनले वातावरणमा विभिन्न समस्या देखिएको उल्लेख गर्दै पृथ्वीलाई दिगो रुपमा बचाउन लागि बनेका ऐन नियमको कार्यान्वयन महत्वपूर्ण हुने धारणा राखे । उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका गण्डकी प्रदेशका सचिव डा महेश्वर ढकालले प्राकृतिक स्रोतसाधनको रुपमा नेपाल निकै धनी भएपनि त्यसको सही प्रयोग र व्यवस्थापन गरेर आर्थिक उपार्जनमा लगाउन नसकिएको बताए।
कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवालले प्राकृतिक स्रोत र साधनमाथि महिलाको पहुँच र नियन्त्रण हुन नसक्दा संरक्षकको भूमिकामा मात्र महिला सीमित रहेको उल्लेख गरे। सामुदायिक वन उपभोक्ता महासङ्घ स्याङ्जाका अध्यक्ष दोवबहादुर कार्कीले वन वातावरण संरक्षणमा महिलाको भूमिका अतुलनीय रहेको बताए ।
प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले प्राकृतिक स्रोत साधन पहुँचमा महिलाको सहभागिता बढाउन स्पष्ट नीति नियमको खाँचो औँल्याए। नेपाल पत्रकार महासङ्घका कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले वातावरणीय मुद्दालाई उजागर गर्दै वन, वातावरणभित्रका गहन विषयको खोजी गर्न जरुरी रहेको बताए । सञ्चारिका समूह नेपालका केन्द्रीय सदस्य विमला भण्डारी र कार्यक्रम संयोजक राधिका कँडेलले सञ्चारिका समूह निरन्तर महिलाको मुद्दामा वकालत गर्दै आएको छ भने ।