६ पुस, बाँके / बर्दियामा पूर्ण सरसफाइको राष्ट्रिय अभियान सफल बनाउन नागरिकस्तरबाट गाउँ टोलमा सक्रियता बढेको छ । घरघरमा सफा शौचालय, छुट्टै हात धुने स्थान, धाराको वरिपरि प्लेट फर्म बनाइ फोहर पानी बग्ने ठाउँ, भाडा धुने जुठेलो सुकाउन च्याङ बनाइएको छ । पशुपक्षीको गोठ घरदेखि छुट्टै बनाएको, कुहिने र नकुहिने वस्तुलाई अलग–अलग वर्गीकरण गरेर डस्टबिनमा व्यवस्थापन गर्नेलगायतका पाँच प्लस एक सूचक तयार गरे गाउँलाई सफा तथा सुन्दर बनाउन स्थानीयवासी एकजुट भएका हुन् ।
बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार दिगो विकास लक्ष्यको आधारमा नेपाल सरकारले सन् २०३० सम्ममा नेपाललाई पूर्ण सरसफाइयुक्त देश बनाउने अभियानलाई सफल बनाउन बर्दियाका नागरिक, स्थानीय सरकार, सङ्घसंस्थाले सक्रियता देखाएका छन् ।
सरसफाइ नभएकै कारण विगतमा विभिन्न रोग लाग्ने गरेकामा हिजोआज सरसफाइमा ध्यान दिन थालेपछि फोहरबाट लाग्ने रोगमा कमी आएको राजापुर नगरपालिकाका स्थानीय बासिन्दाको भनाइ छ । फोहर पानीबाट लाग्ने झाडापाखालालगायत रोग गाउँमा देखिएको छैन । पूरै गाउँका बासिन्दाको स्वस्थ्य अवस्था सुधारोन्मुख भएको राजापुर नगरपालिका–१ टिहुनीका केशुराम थारुले बताए । बर्दियामा विभिन्न राष्ट्रिय र अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरुको सहजीकरणमा बर्दियाको राजापुर तथा बाँसगढी नगरपालिका तथा गेरुवा र बढैयाताल गाउँपालिकाका नागरिक सरसफाइ अभियानमा लागेका छन् ।