८ पुष, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)अन्ततः फुठतर्फ लागेको छ । फुटको घोषणा गर्न मात्रै बाँकी भएपछि नेकपा फुटिसकेको छ । यस्तै आज ओली र प्रचण्ड-नेपाल पक्षका बिभिन्न बैठकहरु बस्दैछन् ।
यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने भएको छ । दुईदिन भित्र सम्पन्न गरिने भेलामा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रदेशगत प्रशिक्षण दिने कार्यक्रम समेत ओली समुहले जनाएको छ ।
प्रदेशगत प्रशिक्षण कार्यक्रमका लागि मुख्य वक्ताका रुपमा बागमती प्रदेशमा पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सुदूरपश्चिममा लेखराज भट्ट, कर्णाली प्रदेशमा शंकर पोखरेल, लुम्बिनीमा टोपबहादुर रायमाझी, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र टोपबहादुर रायमाझी तथा प्रदेश २ मा शंकर पोखरेल र सत्यनारायण मण्डललगायत नेता तोकिएका छन् ।
प्रदेश १ मा भने अझै तोकिएको छैन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले बुधबार सातै प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो । बैठकमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेलाका लागि आह्वान गरेका थिए ।
सोहीअनुसार ओली समूहले देशैभर भेला गर्न लागेको हो । यस्तै मंगलबारको बैठकले ०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । त्यसकै लागि भन्दै ४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ सदस्य थपेर १ हजार १ सय ९९ सय सदस्यीय बनाइएको छ ।