८ पुस, काठमाडौँ । दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा पानी तथा ढल व्यवस्थापनका लागि चरिकोट डिवाट्स आयोजना कार्यान्वयन सहमति तथा वित्तीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको उपस्थितिमा भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी र शहरी खानेपानी तथा सरसफाइ आयोजना व्यवस्थापन कार्यालयका निर्देशक रामकुमार श्रेष्ठबीच सो आयोजना कार्यान्वयनसम्बन्धी सहमति तथा वित्तीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
चरिकोट बजारसहित भिमेश्वर नगरपालिकाको वडा नम्बर ३, ४ र ६ मा रहेको बजार क्षेत्रमा प्रशोधन प्रणालीमार्फत खानेपानी तथा ढल व्यवस्थापनका लागि एशियाली विकास बैंकको ऋण सहायतामा सो आयोजना निर्माणका लागि आयोजना कार्यान्वयन सहमति तथा वित्तीय सम्झौता गरिएको सम्झौतापत्रमा उल्लेख गरिएको छ । सो आयोजनाको कूल लागत रु ९१ करोड ५१ लाख ३६ हजार रहेको छ भने त्यसको कूल लागतको १५ प्रतिशत स्थानीय तहले व्यहोर्नुपर्नेछ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले हिमाली जिल्लामा नेपालमै पहिलोपटक सञ्चालनमा ल्याइएको सो आयोजना नमूना आयोजनाका रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
उनले भीमेश्वर नगरपालिका बजार क्षेत्रको खानेपानी तथा ढल व्यवस्थापनका लागि सञ्चालनमा आउने सो आयोजना राष्ट्रकै नमूना आयोजना भएकाले त्यसलाई समयमै सम्पन्न गर्न भीमेश्वर नगरपालिका र आयोजना कार्यान्वय कार्यालयलाई आग्रह गरे ।
वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंले सो आयोजना सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भीमेश्वर नगरपालिकाका प्रमुख केसीले नगरकै गौरवको आयोजना सञ्चालनका लागि पहल गरी दिएकामा सञ्चारमन्त्री गुरुङप्रति आभार व्यक्त गरे । आयोजना कार्यान्वयन कार्यालयका निर्देशक श्रेष्ठले उक्त आयोजना सम्पन्न गर्न स्थानीय जनप्रतिनिधिले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबलबहादुर पाण्डे, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, सञ्चारमन्त्री गुरुङका सञ्चार विज्ञ राजेन्द्र मानन्धरलगायतको उपस्थिति रहेको थियो । हिमाली जिल्लामध्ये दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा उक्त आयोजना पहिलो पटक सञ्चालनमा ल्याइएको हो । उक्त आयोजना संरचना निर्माणका लागि आवश्यक स्थानलगायत व्यवस्था सरोकारवालाको सहमतिमा भीमेश्वर नगरपालिका आफैँले गर्नेछ ।