प्रदेश 2

सिरहामा छुट्टाछुटै दुर्घटनामा दुईको मृत्यु

९ पुस, लहान । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको छुट्टाछुटै स्थानमा भएको सवारीमा परी दुई जनाको मृत्यु भएको छ । लहान नगरपालिका–१ पडरियास्थित सडकमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १६७५ नंको भाग्यरेखा ट्राभल्सले सोही दिशामा जाँदै गरेको स१०प ९८४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक खोटाङको रुपाकोट मझुवागढी नगरपालिका– ४ निवासी ३२ वर्षीय हिराबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते राईको लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रहरी निरीक्षक दानबहादुर मिरिङचिङले जानकारी दिए ।

यस्तै सिरहाको नरहा गाउँपालिका– ३ स्थित सडकमा आजै उखु लोड गरेको ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ३० वर्षीय मो नइम खाँको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ त ०७६८ नम्बरको ट्र्याक्टरले पूर्वबाट पश्चिम जाँदै गरेको ज११ प २१७८ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते खाँ लाई उपचारका लागि मिर्चैयास्थित मङ्गलम हेल्थ केयर सेन्टर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक मिरिङचिङले जानकारी दिए ।