लुम्बिनी

धार्मिक–पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै ‘रमणेश्वरधाम’

१० पुस, रामपुर / कालीगण्डकीको किनारमा रहेको गण्डकीबेसीकै पुरानो धार्मिक धरोहर ‘रमणेश्वरधाम’ लाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न शुरुआत गरिएको छ । रम्भा गाउँपालिका–१ टोकलकस्थित उत्तरतिर कालीगण्डकी, चारैतिर हरियाली वनजङ्गल, दक्षिणमा कालीगण्डकीले घेरिएको रमणेश्वरधामको धार्मिक पर्यटकीय विकासका लागि समुदायको सहभागितामा पूर्वाधार विकासका काम जारी रहेको छ ।
करिब दुई शताब्दी बढी इतिहास बोकेको रमणेश्वरधाम लामो समयसम्म संरक्षण नहुँदा ओझेलमा परेको थियो । यस धामले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको छ । गण्डकीबेसीकै पुरानो धार्मिक धरोहर भएको विश्वास गरिएको छ ।
मन्दिरको विकासका लागि समिति गठन गरी धार्मिक तथा पर्यटन विकासका काम भइरहेको मन्दिर व्यवस्थापन समिति सचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए । “पहिला मन्दिर संरक्षणमा कसैको पनि चासो नरहँदा लामो समयसम्म यस धार्मिक क्षेत्र अलपत्र अवस्थामा रहिरह्यो, समुदायको पहलमा समिति निर्माण भएपछि पन्ध्र वर्ष यता विकासका काम क्रमिकरुपमा वर्षेनी भइरहेका छन्”, उनले भने ।
विसं १८२४ मा स्थानीय पण्डित इन्दिरारमण पन्तले शिखर शैलीमा महादेवको मन्दिर निर्माण गरेको बताइएको छ । तत्कालीन समयमा कालीगण्डकीको किनारदेखि टापु आकारमा माथि उच्च भागमा रहेको यस क्षेत्रको वरिपरि गाईपालन र गौचरन रहेको थियो । तत्कालीन समयमा एक गाईले टापुको माथिल्लो भागमा गएर दिनहुँ दूध चढाउने गरेको देखेपछि पण्डित इन्दिरा रमणले तत्कालीन समयमा काठमाडौँबाट कालीगढ ल्याएर मन्दिर निर्माण गरेको भनाइ रहेको छ ।
मन्दिरको नाममा ८२ रोपनी जग्गा रहेको छ । हाल जीर्ण रहेको महादेवको मन्दिर पुनःनिर्माण, मन्दिरसम्म पुग्ने सडक, मन्दिर वरपरको भाग घेराबार, शौचालय, खानेपानी व्यवस्थापनका काम जारी रहेका छन् । पुरानो धार्मिक महिमा बोकेको मन्दिर कसैको संरक्षण र सहयोग नपाउँदा ओझेलमा परेकाले यसको संरक्षणमा सबैको दायित्व रहनुपर्ने स्थानीय जगन्नाथ भण्डारीले जानकारी दिए ।
यहाँ हरेक दिन नित्य पूजा, शिवरात्रि, वैशाख र साउनको सोमबार विशेष मेला लाग्ने गर्दछ । यस क्षेत्रको पूर्वाधार विकासमा सघाउ पु¥याउन गत वर्ष समुदायको पहलमा श्रीमद्भागवत देवी महायज्ञ लगाएर करिब रु १९ लाख रकम सङ्कलन गरिएको छ ।
प्रदेश सरकारबाट प्राप्त भएको रु ५० लाखले मन्दिर घेराबार गर्ने काम भएको छ । लुम्बिनी र पोखरा घुम्न आएका पर्यटकलाई यहाँ ल्याउने गरी धार्मिक पर्यटन प्रवद्र्धन गरिँदैछ । रमणेश्वरधामदेखि करिब १०० मिटर तल मन्दिर जाने भागको प्रवेश सडकमा स्थानीय महिला समूहको अग्रसरतामा दुर्गामाताको मन्दिरसमेत बनाइएको छ ।
यस क्षेत्रमा योगध्यान कुटी, नदीकिनारमा वनभोजस्थल, भजनकीर्तन भवन, १०८ शिवालिङ्ग, गरिव दुःखीको लागि आवास निर्माण, प्रवेशद्वार निर्माण, पाँच तलाको भ्युटावर, मन्दिरदेखि कालीगण्डकीसम्म पुग्ने सिँढी निर्माण गर्ने योजना रहेको छ ।
धार्मिक हिसाबले महत्व र कालीगण्डकी बेसीकै पुरानो धार्मिक तीर्थस्थल रहे पनि प्रचारप्रसार र संरक्षण नभएकाले पूर्वाधार विकासमा सधैँ पछाडि परिरहेको स्थानीय महिला देवका अधिकारीको भनाइ छ । धाम क्षेत्रमा पाल्पा, स्याङ्जाका भक्तजन दर्शनका लागि आउने गर्छन् । प्राकृतिकरुपमा सुन्दर र धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको धार्मिक क्षेत्रलाई गुरुयोजना बनाएर विकास गरेको खण्डमा धार्मिक पर्यटक भित्र्याउन सकिन्छ ।
साथै रमणेश्वरधामका अलवा कालीगण्डकी नदी किनारमा रामनदीधाम, रिडीधाम, लक्ष्मीनारायणधाम, सिद्धबाबा मन्दिर, तातोपानीधाम, रामघाट, बालीघाट, घुमारीघाट, देवघाटलगायतका महत्वपूर्ण धार्मिक तीर्थस्थल रहेका छन् ।