१० पुस, वीरेन्द्रनगर / नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशको अध्यक्ष पदमा सुर्खेतका पदमबहादुर शाहीको मात्र उम्मेदवारी परेको छ ।शनिबार हुने निर्वाचनको लागि उनको मात्र उम्मेदवारी परेको हो । निर्वाचन समितिका अनुसार मनोनयन पत्र दर्ता गर्ने अन्तिम समय बिहीबार ४ बजेसम्म शाहीको मात्र अध्यक्ष पदमा उम्मेदवारी परेको निर्वाचन अधिकृत विवश बस्नेतले जानकारी दिए ।
सुर्खेत उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहेका शाही प्रदेश समितिका हालका अध्यक्षसमेत छन् । उनीसँगै एशोसियटतर्फको उपाध्यक्षमा प्रकाश उप्रेती सुर्खेत, कोषाध्यक्षमा सुधन श्रेष्ठ सल्यान र एशोसियट तर्फको सदस्यमा सीताराम कार्की र झवीन्द्र खत्रीको मात्र उम्मेदवारी परेको छ । एकल उम्मेदवारी परेकाहरुको निर्वाचित भएको औपचारिक घोषणा भने शनिबारमात्र हुनेछ ।
जिल्ला–नगरको उपाध्यक्षमा भानुभक्त बराल कालीकोट र रज्जब अली मनियार जुम्ला को उम्मेदवारी परेको छ । जिल्ला–नगरको ५ सदस्यको लागि नाङ्गेल लामा हुम्ला, नवीन विक सुर्खेत, कविराज कँडेल सुर्खेत, भुवन ज्ञवाली सुर्खेत, कर्ण खत्री जाजरकोट, पहल खड्का रुकुम पश्चिम र कष्ण कोइराला दैलेख को उम्मेदवारी परेको छ । वीरेन्द्रनगरमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार शाहीले व्यवसायीको हकहितको लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । “हिजो पनि मैले नेतृत्व गर्दै आएको थिए, व्यवसायी साथीहरुले यसपालि पनि मलाई समर्थन गर्नुभएको छ”, उनले भने, “व्यावसायिक हकहितदेखि नीति निर्माणका काममा अग्रसर भएर लागेका छौँ ।”