१० पुस, गण्डकी / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले इसाईको महान् पर्व क्रिशमसका अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन्। येशु ख्रीष्टको जन्मोत्सव अर्थात् ‘क्रिशमस डे’का अवसरमा उनले नेपाल तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
गणन्तत्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपालिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो सङ्घर्षपछि प्राप्त गरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको बताएका छन् ।
सन्देशमा यस्ता विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको र यस पर्वले पनि विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा गरिएको छ ।