११ पुस, गण्डकी / कास्कीको पूर्वी उत्तरी भेगस्थित मादी गाउँपालिकामा सञ्चालित इदी, वार्दी र मकैखोलाका मोटरेवल पुलको निर्माण कार्य तीव्ररुपमा अघि बढेको छ ।
कोरोना कहरका बाबजुद स्वास्थ्य सुरक्षाप्रति संवेदनशील बन्दै निर्माण कम्पनीले पुलको निर्माण कार्यलाई अघि बढाएका हुन् । गाउँपालिकाको भाग्य र भविष्यसँग प्रत्येक्ष सरोकार राख्ने यी पुलको निर्माण कार्यले तीव्रता पाएपछि स्थानीयवासीमा पनि उत्साह जगाएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए ।
निर्माणाधीन तीनवटै योजना गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सञ्चालित हुन् । यी योजना प्रदेश सरकारको कूल रु ११ करोड २७ लाख ५८ को लागतमा निर्माण भइरहेका छन् ।
राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत इदी र वार्दीखोला पुल पर्दछन् । मकैखोला मोटरेवल थुम्सीकोट, भाचोक–कमदीमार्गमा पर्दछ । प्रदेश सरकारले निर्माण गरे पनि उक्त पुल लोकमार्गको मापदण्डअनुरुप नै भएको आयोजनाले जनाएको छ ।
गाउँपालिकाका वडा नं ४ र ११ जोड्ने इदीखोला मोटरेवल पुल रु चार करोड ४२ लाख १७ हजारको लागतमा निर्माण भइरहेको छ । आरसिसीटी बिम प्रविधिको ३१।२ मिटरको सो पुल गजेन्द्र्र निर्माण सेवा प्राली स्याङ्जा निर्माण गर्ने जिम्मा पाएको हो ।
आगामी साउनभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको सो पुल निर्माणमा यतिखेर दैनिक दुई वटा एस्कासाभेटरसहित २० जनाभन्दा बढी मजदूरले काम गरिरहेका छन् ।
राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गतकै अर्को वार्दीखोला मोटरेवल पुलको पनि निर्माण कार्यले तीव्रता पाएको छ । प्रि स्ट्रेस्ड प्रविधिको ३६।२ मिटर लम्बाइको सो पुल प्रदेश सरकारको रु चार करोड ५२ लाख ७२ को लागतमा निर्माण शुरु गरिएको हो ।
नयाँ बाटो भदौरे निर्माण सेवा प्रालीले बनाउने जिम्मा पाएको सो पुल आगामी २०७८ असोजसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको छ । निर्माण कार्यले तीव्रता पाएसँगै तोकिएका समयमा सम्पन्न गर्ने निर्माण सेवाले जनाएको छ ।
गाउँपालिकाकै थुम्सीकोट, भाचोक–कमदीमार्गमा पर्ने मकैखोलामा रु दुई करोड ३२ लाख ९६ हजारको लागतमा निर्माण गरिने मोटरेवल पुल पनि निर्माण अघि बढेको छ । प्रदेश सरकार र गजेन्द्र निर्माण सेवा प्रालीबीच भएको निर्माण सम्झौताअनुसार आगामी साउनभित्रमा निर्माण गरिने सो पुलको लम्बाइ साढे पच्चीस मिटर रहेको छ ।
पुल निर्माणसँगै वर्षभरी नै यातायातका साधन सञ्चालन हुनेहुँदा यस क्षेत्रमा उत्पादित कृषिको बजारीकरणमा सहयोग पुग्ने वडा नं ७ का अध्यक्ष सत्यराज सापकोटाले जानकारी दिए । पर्यटकीय क्षेत्र ताङतिङको पर्यटन प्रवद्र्धनमा सडकको महत्वपूर्ण भूमिका रहने वडा नं २ का वडाध्यक्ष एकजङ्ग गुरुङले बताए ।
निर्माणधीन तीनवटै मोटरेवल पुलको प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक महीनाअघि एकैदिन शिलान्यास गरेका हुन् । गाउँपालिकाका अध्यक्ष गुरुङका अनुसार पुल निर्माण कामको अनुगमन भइरहेको छ ।
तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता हुँदैन । उक्त तीन पुल निर्माण भइरहेका र मादी नदीमा ज्याउदु, भगवतीटार, घुम्ले, भैँसेलगायत विभिन्न स्थानमा मोटरेवल पुल निर्माण सम्पन्न भई गाउँपालिका प्रदेशको राजधानी पोखरासँग यातायात जोडिएको छ ।
“यी पुलसहित मादी नदीमा कूल नौ वटा मोटरेवल पुल निर्माण सम्पन्न भएर स्थानीय जनताले सुविधा पाउनुका साथै सडकलाई उत्पादनसँग जोडिने गरी अन्य विकास निर्माणसँगै कृषिमा जोड दिइएको छ”, उनले भने । पुल निर्माणले गाउँपालिकाको आर्थिक समृद्धिको ढोका खुल्ने विश्वास लिइएको छ ।