समाचार

आज पनि काठमाडौं उपत्यकामा तापक्रम घट्योः पहाडी ठाउँहरुमा सामान्य कुहिरो

१३ पुष, काठमाण्डौ । आज पनि काठमाण्डौ उपत्यकामा तापक्रम घटेको छ । केही दिनदेखि नियमित तापक्रम घटेर हिजो बिहान न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस रहेको काठमाण्डौमा आज २ दशमलव ९ डिग्रीमा झरेको छ । अहिले काठमाण्डौ उपत्यकासहित पहाडी ठाउँहरुमा सामान्य कुहिरो लागेको छ ।

आज सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भेगका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् समिर श्रेष्ठले बताए । उनका अनुसार हिउँ पर्ने सम्भावना रहेकाले हिमाली क्षेत्रमा चिसो अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

तराईका जिल्लाहरुमा पनि अहिले बिहानबाट बिस्तारै हुस्सु र कुहिरो लाग्न सुरु भएको मौसमविद् श्रेष्ठको भनाइ छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले अहिले वाग्मती र गण्डकी प्रदेशको हिमाली ठाउँहरुमा पातलो कुहिरो लागेको छ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया आज सफा रहेको छ ।

आज दिउँसो भने प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा मौसम बद्ली हुनेछ । आज राति भने प्रदेश नं १ बाहेका स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।