समाचार

चावहिलस्थित चन्द्रविनायक पुनःनिर्माण सम्पन्न

१३ पुस, काठमाडौँ । उपत्यकाका चार विनायकमध्येको चावहिलस्थित चन्द्रविनायक मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिर पुनःनिर्माण सम्पन्न गरी क्षमापूजा गरेसँगै सर्वसाधारणका लागि मन्दिर खुला गरिएको छ ।

कोरोना महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । त्यसअघि पनि मन्दिर पुनःनिर्माण शुरु भइसकेकाले मूल मूर्तिमा नभई चन्द्रविनायक तस्बीर अङ्कित प्रतिमामा मात्र भक्तजनलाई दर्शन गराइन्थ्यो ।

चावहिल गणेशसमेत भनिने चन्द्रविनायक पुनःनिर्माण सम्पन्न भएसँगै भूकम्पबाट क्षतिग्रस्त पशुपति क्षेत्रका ४७ सम्पदा पुनःनिर्माण सम्पन्न भएको कोषका निर्देशक भरत मरासिनीले राससलाई जानकारी दिए । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पशुपति क्षेत्रका ९० वटा सम्पदा क्षतिग्रस्त भएका थिए । मन्दिर पुनःनिर्माणमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र स्थानीय नवीन गोर्खालीको संयोजकत्वमा रहेको चन्द्रविनायक तथा भैरवनाथ भजन मण्डललगायतको सहयोग रहेको कोषले जनाएको छ ।

बालबालिकालाई केही भएमा चन्द्रविनायकको दर्शन एवं पूजा गराएमा ठीक हुन्छ भन्ने विश्वास छ । घाउ खटिरा एवं चर्म रोग हुनेले पनि चन्द्रविनायकका पूजा आराधना र दर्शन गरेमा ठीक हुने धार्मिक आस्थाले हजारौँ भक्तजन मन्दिरमा आउने गरेका छन् । प्रत्येक हप्ताको मङ्गलबार र शनिबार मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।

निर्माण कम्पनी पी आर कन्स्ट्रक्सनले रु एक करोड ३० लाखको लागतमा मन्दिर पुनःनिर्माण भएको हो । यो मन्दिरसमेत पशुपति क्षेत्रका १८ सत्तल र २९ मन्दिर गरी ४७ वटा सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेका छन् । पशुपति क्षेत्रका ११ सम्पदाको कार्य चालू रहेको कोषले जनाएको छ । विश्वरुप मन्दिर, गौरीघाटलगायत सात सम्पदा खरीद प्रक्रियामा रहेका छन् । पच्चिस सम्पदाको काम शुरु गर्न बाँकी रहेको पनि निर्देशक मरासिनीले जानकारी दिए ।

साँढे पाँच वर्ष अघिको भूकम्पले देशभरका ९२० सम्पदामा क्षति पुगको प्राधिकरणले जनाएको छ । त्यसमध्ये हालसम्म ४६५ अर्थात् ५०.५ प्रतिशत पुनःनिर्माण सम्पन्न भएको छ । हाल २७२ सम्पदाका पुनःनिर्माण जारी रहेको प्राधिकरणले जनाएको छ ।