१३ पुस, महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले मुलुकमा आउने जस्तोसुकै राजनीतिक परिस्थितिको सामना गर्न कांग्रेस तयार रहेको बताएका छन् । कांग्रेस कञ्चनपुर निर्वाचत क्षेत्र नं ३ ले आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको विरोध कार्यक्रममा उनले भने, “कम्युनिष्ट पार्टीको घर झगडाका कारण प्रतिनिधिसभा विघटन हुन पुगेको छ ।”
नेता लेखकले सरकार सञ्चालनमा अन्तरसत्ता सङ्घर्षका कारण यहाँसम्मको स्थिति आइपुग्यो भन्दै दुई तिहाइ जनमत पाउँदा पनि मुलुकमा स्थिरता आउन नसकेको बताए ।
यसैगरी कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा आयोजना गरेको विरोध कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउदले कम्युनिष्ट पार्टीका कारण मुलुकको राजनीति गम्भीर अवस्थामा पुगेको बताए ।“सरकारले पाँच वर्षको कार्यकाललाई तीन वर्षमै टुङ्ग्याएर निर्वाचन घोषणा गरेको छ”, उनले भने, “संविधान कार्यान्वयन भएन भने अवस्था जटिल हुन सक्छ ।”