कर्णाली, १५ पुस । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो । मङ्गलबार उनीहरुलाई सार्वजनिक गर्दै १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित सासू–बुहारीलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।
“विशेष सूचनाका आधारमा बुहारी शान्तिको कोठामा खानतलास गर्दा पाँच ग्राम १७० मिलिग्राम लागुऔषध भेटिएको थियो”, उनले भने, “सासू कौशिलाको कोठामा समेत खानतलासी गर्दा नौ ग्राम ८०० मिलिग्राम लागुऔषध भेटिएको हो ।
” लागुऔषधसहित शान्ति सिंहको साथमा रहेको रु २१ हजार ५०० नगद पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । पक्राउ परेका सासू–बुहारीलाई लागुऔषध खरिद, ओसारपसार, सञ्चय तथा बिक्री वितरण गरेको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।