समाचार

पुनःनिर्माणमा बस्तीलाई पुरानै शैलीको संरक्षण हुनुपर्छः अधिकृत ज्ञवाली

१७ पुस, बनेपा / पुनःनिर्माणमा बस्तीलाई पुरानै शैलीको संरक्षण हुनुपर्छः अधिकृत ज्ञवाली
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकरी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनःनिर्माणका क्रममा बस्तीलाई पुरानै शैलीमा संरक्षण हुनेगरी निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित पिपलचौर एकीकृत नमूना बस्तीमा बाटोमा ढुङ्गा छापिएको कार्य सम्पन्न पश्चात उपभोक्ता समितिलाई हस्तान्तरण कार्यक्रममा उनले पहिचान र सभ्यता बोकेका पुराना बस्तीको पुनःनिर्माण गर्दा परम्परागत शैलीलाई नबिगार्ने गरी भित्र नयाँ प्रविधिसहित घर निर्माण गर्नुपर्ने बताएका छन् ।
नगर उपप्रमुख रामदेवी तामाङले पूराना बस्तीलाई संरक्षण र सम्वद्र्धन गर्नका लागि नगरपालिका सहयोग गर्न तयार रहेको र त्यसका लागि स्थानीय बासिन्दाले पनि साथ दिन आग्रह गरे । वडा नं २ का वडाध्यक्ष सञ्जीव ढकालले विकासको निम्ति स्रोत र साधन भएर मात्रै नहुने भएकाले समुदायको इच्छाशक्ति, साथ र सहयोगले मात्रै निर्माण गर्न सकिने बताए ।
वडाभित्र निर्माण भइरहेको एकीकृत नमूना बस्तीका लागि वडाबाट गर्नुपर्ने साथ र सहयोग रहने उल्लेख गर्दै उनले पिपलचौरलाई नेवारी संस्कृतिसहितको घरबास केन्द्रका रुपमा विकास गर्न नगरपालिकाबाट समेत सहयोग गर्न आग्रह गरे ।
रोटरी क्वल अफ धुलिखेलका पूर्व अध्यक्ष अशोक श्रेष्ठले एकीकृत नमुना बस्ती बनाउनका लागि सहयोग गर्ने प्रक्रिया अगाडी बढिसकेको जानकारी दिए । बस्ती पुनःनिर्माणसँगै स्वास्थ्य सेवाका लागि क्लिनिक सञ्चालनमा सहयोग गर्ने तयारी भएको उनले बताए ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु एक करोड ३२ लाख र स्थानीय उपभोक्ता समितिको श्रमदान गरी रु एक करोड ६६ लाख लागतमा बस्तीबीचमा रहेको बाटामा करिब दुई सय मिटर ढुङ्गा छाप्ने र नाली निर्माण सम्पन्न गरी आज उपभोक्ता समितिलाई हस्तान्तरण गरेको छ । स्थानीय बासिन्दाका अनुसार करिब चार सय बर्ष पुरानो नेवार समुदायको ८० घरधुरीको बस्तीलाई एकीकृत नमूना बस्तीका रुपमा विकास गर्ने योजना अगाडि बढाएको छ ।