१७ पुस, काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देवले मुलुकमा राजनीतिक स्थिरताका लागि नेपालको संविधानमा विशेष अवस्थामा मात्र प्रतिनिधिसभा विघटनको व्यवस्था राखिएको बताएका छन् । आजदेखि शुरु भएको राष्ट्रियसभाको आजको बैठकमा उनले बहुमतप्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नभएको जिकिर गरे ।
उनले राजनीतिक स्थिरताका लागि प्रतिनिधिसभाबाटै सरकार गठनका विभिन्न विकल्प राखिएको बताउँदै पार्टीभित्रको समस्यालाई देशको समस्या बनाउन नहुने धारणा राखे ।
प्रतिनिधिसभा विघटनको विषय अदालतमा विचाराधीन भएकाले आफ्नो पार्टीले यस विषयमा धेरै नबोल्ने उनले बताए ।
उनले कोरोना भाइरस सङ्क्रमणका क्रममा आर्थिक सङ्कटका अवस्थामा मध्यावधि निर्वाचन घोषणा हुनु मुलुकको हितमा नभएको बताए ।
छिमेकी मुलुकबाट पछिल्लो समयमा भएको चलखेलले मुलुकको राष्ट्रियता बलियो नहुने पनि उनले बताए । उनले सरकारले आफ्ना विपक्षी नेताको फोन ट्याप गर्न लागेको भनी आएको समाचारका सम्बन्धमा जवाफ माग गरे ।
अध्यादेशमा संविधानको मर्म विपरीत संवैधानिक परिषद्सम्बन्धी व्यवस्था राखिएको आरोप लगाउँदै उनले त्यसको खारेजीको माग गरे । उनले उखु किसानका समस्याको दिगो समाधानका उपाय खोज्न सरकारलाई सुझाव दिए । परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा र जनस्रोत नीतिका बारेमा सबै दल र सरोकार पक्षसँग छलफल गरेर साझा धारणा बनाउन पनि उनले सरकारलाई सुझाव दिए ।
जनता समाजवादी पार्टीकी प्रमिला कुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको कदम असंवैधानिक भएको जनाउँदै राष्ट्रपतिले यस विषयमा सुझबुझपूर्वक काम गर्न नसकेको आरोप लगाए । उनले प्रतिनिधि पुनःस्थापनाको माग पनि गरे ।
किसानका समस्या समाधानमा सरकार गम्भीर नभएको, मुलुकमा भ्रष्टाचार बढेको र संविधानको मर्म विपरीत संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएको आरोप लगाउँदै उनले त्यसको खारेजीको माग गरे ।