समाचार

सबै स्थानीय तहमा औद्योगिक ग्रामको अवधारणा ल्याइसक्यौँः मन्त्री भट्ट

१८ पुष, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकका ७५३ स्थानीय तहमा औद्योगिक ग्रामको अवधारणा अघि बढाइसकेको बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य सङ्घको ‘४१ औं साधारणसभा उद्घाटन’ का क्रममा शुक्रबार उनले विश्वका मुलुकहरु औद्योगिक क्रान्तिमार्फत विकास भइरहेका बताएका हुन् । उनेले भने, “हामीले प्रकृतिले दिएका स्रोत साधनको सही ढङ्गले प्रयोग गर्न अझै सकेका छैनौं ।

मुलुकमा विभिन्न व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई सही तरिकाले काम गर्न आग्रह गर्दछु । यदि कुनै व्यवसायीले गल्ती गरेमा त्यसलाई कानूनी कारवाहीको दायरामा पनि ल्याउनेछौं ।” मुलुकलाई आर्थिक समृद्धि तिर अघि बढाउन उत्पादनलाई गुणस्तरीय बनाउन जरुरी रहेको उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले कोेभिडले लथालिङ्ग बनाएको अर्थतन्त्र जोगाउन सरकारले व्यवसायीलाई राहतको कार्यक्रम घोषणा गर्नुपर्ने औँल्याए । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले कोभिड अगाडिको व्यापार व्यवसाय पूर्ववत् पुनः फर्काउन जरुरी भएको हुँदा राम्राराम्रा कार्यक्रम ल्याउनुपर्ने मत व्यक्त गरेका छन् ।

उनले भने, “हालको आर्थिक गतिविधि सुस्त भएको हुँदा उत्पादनलाई विश्व बजार समक्ष प्रतिस्पर्धी बनाउँदै लानुपर्ने भएको छ ।” ललितपुरमा रहेका छ पालिकामध्ये दक्षिण ललितपुरका तीन गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न ठूलो रकम आवश्यक भएको उनले जानकारी गराएका छन् ।

सङ्घका वरिष्ठ उपाध्यक्ष भरतलाल प्रधानले मुलुकको अर्थतन्त्र बढाउन पुरातन सोचलाई अन्त्य गरी वैज्ञानिक ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता भएको भनाइ राखेका छन् । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरोनाका कारण धरासायी भएका व्यवसायीलाई महानगरपालिकाभित्र तिर्नुपर्ने करमा १० प्रतिशत छुट दिएको बताए । उनले भने, “ललितपुर विश्वको ३५ औं कला नगरीमा घोषणा भइसकेकाले यहाँका व्यवसायी आ–आफ्नो कामबाट पलायन नहुन् भनेर चालु आर्थिक वर्षमा कोभिड कोषको पैसा यसको बचावटमा छुट्याइसकेका छौँ ।”