२० पुुस, चितवन । गृहमन्त्री रामबहादुर थापाले उपयुक्त नीति, कार्यक्रम र कुशल नेतृत्वले नै समाजवादसम्म पु¥याउन सक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले आज यहाँ आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उनले अहिले देश समाजवादोन्मुख रहेको उल्लेख गरे ।
उनले भने, “हामी समाजवाद निर्माणको चरणमा आइपुगेका छौँ, त्यसैले उपयुक्त नीति र नेतृत्व आवश्यक छ ।” हरेक परिवर्तनका लागि नीति र नेतृत्व आवश्यक रहेको भन्दै उनले भने, “उपयुक्त नेतृत्व कुन भन्ने विषयका उत्तर दिन हामी यहाँ भेला भएका हौँ ।” उनले भने, “प्रधानमन्त्री बन्न जनताको र पार्टी अध्यक्ष बन्न कार्यकर्ता कहाँ जानुपर्छ । जसको नीति र नेतृत्व राम्रो छ जनताले उसैलाई प्रधानमन्त्री बनाउने बताए। जनता कहाँ गएर नयाँ निर्वाचनमार्फत प्रधानमन्त्री बन्ने मौका दिएका छौँ ।”
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले लोकतन्त्रमा जनताको माझमा जाने काम तानाशाही नहुने बताए । प्रधानमन्त्री केपी ओलीलाई सुशासन विरोधी भन्न नमिल्ने बताउँदै उनले प्रश्न गरे, “जसले देशलाई जातीय रुपमा विभाजन गर्न हुँदैन भन्यो, भारतीय नाकाबन्दीको सामना गर्दै विकास निर्माणका नयाँ योजना लिएर अगाडि बढ्यो, त्यो मानिस कसरी सुशासन विरोधी हुन्छ ” देशमा दण्डहीनता नियन्त्रण गर्दै सामाजिक विकास र पूर्वाधार निर्माणमा आफूलाई समर्पण गर्ने नेता कहिल्यै सुशासन विरोधी हुन नसक्ने उनको भनाइ थियो ।
सो अवसरमा नेकपाका केन्द्रीय सदस्य काशीनाथ अधिकारी, आनन्द पोखरेल, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार सीता पौडेल, प्रदेशसभा सदस्य कृष्णप्रसाद भूर्तेल, नारायण अधिकारीलगायतले प्रधानमन्त्री केपी ओलीको कदमको स्वागत गर्दै निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेका थिए।