२२ पुस, दुल्लु / दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–६ मा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्यसेवा कार्यालय आयुर्वेदक शाखाले सञ्चालन गरेको एक दिने निःशुल्क शिविरमा ५१२ सेवाग्राहीले सेवा लिएका छन् ।
आयुर्वेद शाखाका चिकित्सक प्रसन्न नेपालले शिविरमा ३२६ महिला र १८६ पुरुषले परीक्षण गराएको जानकारी दिए । “हामीले गाउँगाउँमा आयुर्वेदिक जानकारी र जनचेतना जगायौँ भने अझै बढी मानिस त्यतातिर आकर्षित हुनेछन् । गाउँ र टोलमा आयुर्वेदिक आमा समूह गठन गरेर आयुर्वेदबारे जानकारी दिनुपर्छ । स्थानीय पाठ्यक्रममा समेत यो विषय समावेश गरिनुपर्छ”, चिकित्सक नेपालले थपे ।
शिविरमा ग्यास्ट्रिक, मधुमेह, दम, उच्चरक्तचाप, स्त्रीरोग र हाडजोर्नी दुख्नेजस्ता समस्याको निःशुल्क परीक्षण गरी औषधि वितरण गरिएको थियो । शिविरमा पुरुषभन्दा बढी महिलाको स्वास्थ्य परीक्षण गरिएको आयुर्वेद शाखाका आस प्राविधिक कविराज रामप्रसाद महत्तोले बताए । एक दिनको शिविरमा यति धेरै मानिस आउनुले आयुर्वेद औषधिप्रति जनताको विश्वास भन्ने देखाएको उनले विश्वास गरे । “जनताको मन आयुर्वेद औषधिले जितेको छ, तर प्रचारप्रसार र जनचेतनाको कमीले गर्दा आयुर्वेदिकतिर आर्कषण घटेको हो”, उनले भने । शिविरमा अधिकांश बिरामीमध्ये बाथरोग र पाठेघर समस्या भएका महिला आएको शाखाकी बैद्य रीताकुमारी शाहीले बताए । उनले भने, “म महिला भएकै कारण सबै महिलाले खुलेर समस्या राखे । शिविरमा आएका महिलामध्ये ६० प्रतिशत महिलामा पाठेघरको समस्या देखिएको छ । सेतो पानी बग्ने तथा तल्लो पेट दुख्ने गरेका महिला बढी भेटिए । १६ वर्षदेखि माथिका सबै महिलामा यो समस्या छ ।”
उनका अनुसार पश्चिमका महिला महिनावारी भएको बेला छाउगोठमा बस्ने, पोषण खानेकुरा खानबाट वञ्चित हुने तथा गहु्रङ्गो भारी बोक्ने कारणले गर्दा समस्या आएको हो । यसको लागि स्थानीय सरकारले महिला केन्द्रित कार्यक्रम ल्याएर तत्काल उपचार चाल्नुपर्छ ।
नागरिक आरोग्य सेवा केन्द्र स्थापना
शिविरकै दिन चामुण्डाविन्द्रासैनी नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको छ । स्वास्थ्य सेवामा जनताको पहुँच सजिलै होस् भन्नका लागि केन्द्र स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार र चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्यबहादुर शाही संयुक्तरुपमा आरोग्य सेवा केन्द्रको उद्घाटन गरे ।
नगरमै आरोग्य सेवा केन्द्र स्थापना भएपछि अब स्थानीयवासीलाई सेवा लिन जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटेर गएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा नीरञ्जन पन्तको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख शाहीले नगरपालिकामा सेवा सञ्चालनका लागि पहल गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे । उनले दूर्गममा रहेका सर्वसाधारण जनताका लागि गाउँमै सञ्चालन भएको आयुर्वेद सेवा केन्द्रले धेरैको जीवनमा सहयोग पुग्ने जानकारी दिए ।
प्रजिअ सुनारले राज्यले संविधानमा भएको अधिकार बमोजिम नागरिक स्वास्थ्य उपचार पहुँचलाई सहज बनाउनका लागि आरोग्य सेवा केन्द्र स्थापना भएको बताए । “औषधि आएर मात्रै आरोग्य हुँदैन, त्यसका लागि खानेकुरामा ध्यान दिनुपर्छ”, उनले भने । बजारमा म्याद समाप्त भएका सामग्रीको दैनिक प्रयोग गर्दा रोगी हुने गरेको सुनारको भनाइ थियो । उनले सामग्री खरिद गर्दा म्याद हेरेर मात्र खरिद गर्न अनुरोध गरे । उनले मध्यपान, धूमपान छाड्न आग्रह गरे ।
आरोग्य सेवा केन्द्रले नगरपालिकाका ज्येष्ठ नागरिकलाई रसायन र सुत्केरीलाई दुग्धवतन औषधि वितरण गर्नेछ । सेवा केन्द्रबाट निःशुल्क औषधि वितरण, बिरामी चेकजाँच र पूर्वकर्म र पञ्चकर्म सेवा दिने बताइएको छ ।