२५ पुस, नवलपुर / पूर्वपश्चिम राजमार्गअन्तर्गत चोरमारा जङ्गलमा भारतीय टेलर लहरीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
नवलपरासी बर्दघाट–सुस्तापूर्वको मध्यविन्दु–७ मा पर्ने सो सडकमा पूर्वतर्फ जाँदै गरेको युपी२२एटी १०८७ नंको लहरीले ना२१प ७५६५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो भएको सो दुर्घटनामा मृत्यु हुने मोटरसाइकल चालकको नाम, ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी–बर्दघाट–सुस्तापूर्वका प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए । मृतकको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा पठाइएको प्रवक्ता खाँणले बताए ।
ठक्कर दिने लहरी, त्यसका चालक तथा मोटरसाइकल प्रहरीको नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।