२६ पुस, बाँके / लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री आरती पौडेलले माछामा देशलाई आत्मनिर्भर बनाउन माछापालन व्यवसायमा अनुदानको व्यवस्था गरिने बताएका छन्। आज बर्दियाको भेटेरिनरी अस्पतालमा प्रयोगशालाको उद्घाटन गर्दै उनले माछापालनमा आकर्षण बढाउन अनुदानसँगै सहुलियत कर्जाको सुविधा प्रदान गरिने बताए । प्राकृतिक खोलानालामा पनि माछापालन गर्ने प्रदेश सरकारको योजना रहेको उनको भनाइ छ ।
कार्यक्रममा कृषि अनुसन्धान परिषद्का प्राविधिक मोहम्मद सद्दाम हुसेनले माछापालनमा देखिएका समस्या समाधानका बारेमा प्रकाश पारे । मत्स्य विकास अधिकृत श्रवणकुमार चौधरीले बर्दियामा माछापालनको अवस्थाको बारेमा जानकारी दिए । सो अवसरमा किसानले माछापालनमा अनुदान तथा कृषि ऋणमा छुट हुनुपर्ने, दानाको समस्या समाधान गर्नुपर्नेलगायतका माग राखेका थिए ।